जेठ १५, २०८३ शुक्रबार

काठमाडौँ, १५ जेठः सरकारले बाल सुधारगृहको पूर्वाधार तथा व्यवस्थापन गर्ने भएको छ । 

    सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बाल सुधारगृहको पूर्वाधार तथा व्यवस्थापन गर्न रु ३१ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गर्नाका साथै महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । 

    बजेट वक्तव्यमा दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरिएको छ । मन्त्री वाग्लेले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकतर्फ रु दुई अर्ब २७ करोड विनियोजन गर्नुभएको छ । 

    सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउने भएको छ । आर्थिक बजेटमा भनिएको छ, “आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि कीर्तिपुरस्थित सङ्ग्रहालयको विस्तार गर्नेछौँ, दलित समुदायको परम्परागत मौलिक सीप, कला तथा पेसाको प्रवद्र्धन गर्न मधेस, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना ‘होमस्टे’ सञ्चालन गर्नेछौँ ।”