जेठ १६, २०८३ शनिबार

काठमाडौँ, १६ जेठः गणतन्त्र दिवसका अवसरमा कोलकातास्थित नेपाली महावाणिज्यदूतावासद्वारा शुक्रबार विविध कार्यक्रम आयोजना गरियो ।

त्यस अवसरमा महावाणिज्यदूतावास परिसरमा राष्ट्रिय झण्डा फहराइनाका साथै राष्ट्रिय गानबाट प्रवचन कार्यक्रम गरिएको थियो ।

महावाणिज्यदूतावासका अनुसार   महावाणिज्यदूत झक्कप्रसाद आचार्यले हजारौँ नेपालीको त्याग र बलिदानको प्रतिफलस्वरूप नेपालमा गणतन्त्र स्थापना भएको उल्लेख गर्नुभयो । 

गणतन्त्रले नागरिक सर्वोच्चता, समावेशिता, विधिको शासन, मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता तथा सामाजिक न्यायलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदान गरेको बताउँदै उहाँले राष्ट्रको समृद्धि, सुशासन र दिगो विकासका लागि गणतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । 

शुक्रबार साँझ ७३औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस पनि विविध कार्यक्रमका साथ मनाइएको छ । ‘नेपालको गौरव र पहिचान सगरमाथा’ नाराका साथ आयोजित उक्त कार्यक्रममा कोलकातास्थित ‘ट्राभल एण्ड टुर’ व्यवसायी, पर्यटन क्षेत्रसँग निकायका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा सगरमाथाको अन्तरराष्ट्रिय महत्व, नेपालको पर्यटन सम्भावना, पर्वतीय पर्यटन, हिमाल संरक्षण तथा दिगो पर्यटनका विविध पक्ष समेटिएका सामग्री प्रस्तुत गरिएको थियो । नेपाल–भारत पर्यटन सहकार्य, नेपाल भ्रमण प्रवर्द्धन, पर्यटन पूर्वाधार विकास तथा पर्यटक आदानप्रदानका सम्भावनाबारे छmलफल पनि भएको थियो ।