काबुल । द वाल स्ट्रिट जर्नलको नयाँ रिपोर्टले जनाएअनुसार अफगानिस्तानमा गरिबीको चपेटमा परेका अभिभावकहरू ऋण तिर्न आफ्नै छोराछोरी अरूलाई बेच्न बाध्य बनिरहेको पाइएको छ ।
त्यहाँको पश्चिमी क्षेत्रमा बस्ने, सरसफाइको काम गर्ने ४० वर्षीया सलेहाले अहिले आफ्नी ३ वर्षीया छोरी ऋण लिएको व्यक्तिलाई बेचेकी छिन् । उनले ५५० डलर चुकाउनु थियो तर दैनिक कामबाट केबल ७० सेन्ट आम्दानी गर्ने गरेकी छन् भने उनका पति बेरोजगार बसिरहेका छन् ।
उनी भन्छिन्, “यदि जीवन यत्तिकै पीडादायी रहिरहने हो भने म मेरो बच्चासँगै आत्महत्या गर्नुपर्ने स्थिति आउनेछ । किनकि मलाई आज राति हामीले के खाने पनि थाहा छैन । छोरीको जीवन बचाउन म पैसा खोज्ने प्रयास गरिरहेकी छु ।”
उनले ऋण लिएका व्यक्ति खलिद एह्मदका अनुसार ऋण सुल्झाउन उनले ३ वर्षीया छोरी लिनैपर्ने भएको हो । उनी भन्छन्, “मसँग पनि त पैसा छैन र उनीहरुले तिर्न सकिरहेका छैनन् । त्यसैले मसँग छोरी लैजानुबाहेक कुनै विकल्प छैन ।”
गत महिना संयुक्त राष्ट्र संघले तालिबानको अचानक नियन्त्रणपश्चात् अफगानिस्तान अधिकतम गरिबीतर्फ मोडिरहेको चेतावनी दिएको थियो । युएनडिपी एसिया–प्यासेफिकका निर्देशक कन्नी विग्नराजाका अनुसार अबको एक वर्षभित्रै अफगानिस्तानमा गरिबीको दर बढेर ९७ देखि ९८ प्रतिशतसम्म पुग्नेछ ।