जेठ १७, २०८३ आइतबार

जुम्ला, १७ जेठः जिल्लाको हिमा गाउँपालिका-३ स्थित जोगिबाँडामा रु छ करोड लागतमा पक्की पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको रु छ करोड ३४ लाखको बजेटमा हिमा नदीमाथि पक्की पुल निर्माण हुन लागेको हो ।

    पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावलले मन्त्रालयको विनियोजित बजेटअन्तर्गत र रही कार्यालयले बोलपत्र आह्वान गरेको जनाउँदै रु छ करोड ३४ लाखमा बन्ने उक्त पुल मल्ल कन्ट्रक्सन दैलेखसँग निर्माणका लागि सम्झौता भएको बताउनुभयो ।

    यसअघि हिमा नदीमाथि पुल नहुदाँ गाउँसम्म पुग्न तथा सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको थियो । प्रदेशको सहरी विकास मन्त्रालयले बहुवर्षीय बजेट सुनिश्चत गरेपछि पुल निर्माण प्रक्रिया अघि बढेको कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईंले बताउनुभयो । उहाँका अनुसार उक्त पुल निर्माण भएपछि बड्की, जोगिबाँडा, च्यामा र मोफ्ला गाउँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । 

    यहाँका विकट गाउँबस्तीका स्थानीयले उत्पादन गर्ने कृषि तथा पशुजन्य उत्पादन बजारसम्म ल्याउन र आवतजावत गर्न सुविधा पुग्ने हिमा-३ का वडाध्यक्ष धनवीर रोकायाले बताउनुभयो । उहाँका अनुसार पुल ४० मिटर लामो हुनेछ । पुल आगामी दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।