महेश सिंह/सिरहा/२ कार्तिक - सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित विष्णुपुर चोकमा तीनदिने विष्णु मेला सुरु भएको छ। यहाँ प्रत्येक वर्षको कार्तिक १ गते देखि ३ गतेसम्म मेला लाग्ने गरेको मेला समितिका अध्यक्ष तालेश्वर यादवले जानकारी दिए ।
यस वर्षको पूजामा स्थानीय समाजसेवी सरोजकुमार यादवले पूजाको सम्पुर्ण सामग्री व्यवस्था गरेका छन् ।
परापूर्व कालदेखि उक्त ठाँउमा विष्णु भगवान्को मन्दिर रहेको स्थानीय बुढापाकाहरूको भनाइ छ । तर २०५९ सालमा सिद्धिबाबाको विशेष पहलमा नयाँ मन्दिरको सिल्यान्यास भएको हो ।
मेला सुरु हुनुअगावै मन्दिरलाई दुलहीझैँ शृङ्गारिने गरिएको छ । मेला सुरु भएसँगै त्यहाँ पसलहरू थापिएका छन् भने मानिसहरूको चहलपहलसमेत बढेको छ ।
उक्त मन्दिरमा छिमेकी गाउँ विष्णुपुर, हरिनगर, राजपुर, थल्हा, रजोखैर, लक्ष्मीपुर, सोभापुर, गौरीपुर, नरहा, पदमपुर, देवीपुर, ब्रह्मपुरी, बर्छ्वा, बलुवालगायत गाउँका दर्शनार्थी आउँछन् ।