कात्तिक २, २०७८ मंगलबार

२ कार्तिक । बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दू समुदायमाथि आक्रमण बढ्न थालेको छ । त्यहाँका मन्दिरहरूमा आगजनी भएको छ भने हिन्दू मन्दिर कमिटीका सदस्यहरू मारिएका खबर प्राप्त भएका छन् ।

दुर्गा पूजालाई बिथोल्न योजनावद्ध तरिकाले केही समूह सक्रिय भएको बताइँदै आएको छ । यसमा मिडियासमेत दुरूपयोग गरिएका छन् । एक मिडियाले हिन्दू धर्मालम्वीले दुर्गा पूजाको समयमा कुरानलाई घुँडामा राखेको भन्ने अफवाह फैलाएपछि हिंसा भड्किएको थियो । त्यसपछि भीडले हिन्दू मन्दिरहरूमा आक्रमण गरेको थियो । त्यहाँ भएको हिंसामा दुईजना हिन्दू धर्मालम्वी पुरुषको हत्या भएको छ । मन्दिरहरूमा तोडफोड र आगजनी गरिएका विवरणहरू आइरहेका छन् । 

दुई सयबढीको भीडले दक्षिणी शहर बेगमगञ्जमा हिन्दू कमिटीका सदस्यहरूलाई कुटेर धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । उनीहरू १० दिनको दुर्गा पूजा आयोजना गर्दै थिए ।

बङ्गलादेशको साढे १६ करोड कुल जनसङ्ख्याको झण्डै १० प्रतिशत हिन्दू छन् । यो डेढ करोडभन्दा बढी जनसङ्ख्या हो । भारत र नेपालपछि बङ्गलादेश बढी हिन्दू जनसङ्ख्या रहेको देश हो ।