कात्तिक २, २०७८ मंगलबार

एउटा साम्राज्यले अर्को मुलुकमा गएर त्यहाँका शासकलाई पराजित गरेका थुप्रै कहानी हामीले इतिहासमा पढेका छौँ। तर, यो कहानीचाहिँ साम्राज्यलाई पराजित गर्ने ती सामुद्रिक महिला डाँकु सरदारबारे हो, जोसँग १ हजार ८ सयभन्दा बढी पानीजहाजहरू थिए। 

यो कहानी २ सय वर्षअघिकी चिनियाँ सामुद्रिक डाँकु चिङ सीको हो। उनको जीवन सामुद्रिक तटीय इलाकाहरूमा देहव्यापारका साथ सुरु भएको थियो।
देहव्यापारबाट सुरु भएको उनको जीवन समयक्रममा पोर्चुगाली र चिनियाँ सैनिकहरूका लागि ‘यमराज’ सरह बन्यो। यी सामुद्रिक महिला डाँकु चिङ सीका अलावा झेंग यी साओ र शी येङका नामले पनि चर्चित बनिन्।  

हिंसा, बर्बर प्रकृतिका सजायँ र देहव्यापारका कारण चर्चित बनेकी चिङ सी सन् १८४४ सम्म जीवित थिइन्। आफ्नो कब्जामा परेकाहरूलाई कठोर र बर्बरखालका सजायका लागि पनि उनी चर्चित थिइन्। 
उनको जन्म १७७५ मा छिङहाइको ग्वाङडोङमा भएको थियो। इतिहासकारहरू उनका नातेदार र पारिवारिक इतिहासका बारेमा थप जानकारी जुटाउन असमर्थ छन्। 

तर, चिङ सीको जीवनले भने चिनियाँ इतिहासमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ।  

१८ औँ शताब्दीमा सामुद्रिक जहाज र समुद्रमार्फत् हुने कारोबारमा पुरुषहरु मात्र संलग्न थिए। त्यसैले, बन्दरगाहमा अडिने जहाजमा वेश्यावृति हुनु सामान्य कुरा थियो। 

इतिहासकारहरूको भनाइ छ, ६ वर्षको उमेरमा नै चिङ शी देहव्यापारमा संलग्न हुन पुगेकी थिइन्।  
  
त्यो बेला झेङ्ग यी, चिङ सी र ग्वेन आन जस्ता चर्चित डाँकु सरदारहरू चिनियाँ साम्राज्य विरुद्ध लडिरहेका थिए। झेङ्ग यीले भियतनामका सूर्यवंशी राजाको प्रतिनिधिका रूपमा युद्ध गरेका थिए। 

उनका एक नातेदार झेङ्ग की सामुद्रिक डाँकुहरुका सरदार मानिन्थे। 

सामुद्रिक डाँकुसँग विवाह
एक आक्रमणका क्रममा झेङ्ग यी र चिङ सीबीच भेटघाट हुन पुग्यो। केही समयपछि नै उनीहरुबीच प्रेम सम्बन्ध कायम भयो। सन् १८०१ मा उनीहरूले विवाह नै गरे।

झेङ्ग यीले प्रस्ताव राखे, ‘यदि तिमी मसँग विहेका लागि राजी हुन्छ्यौ भने विजयका क्रममा प्राप्त गरेकोमध्ये आधा सम्पत्ति तिम्रो हुनेछ।’ 

चिङ सीलाई झेङ्ग यीको यो प्रस्ताव मन पर्यो। उनले विवाहका लागि तुरुन्तै स्वीकृति दिइन्। विवाह हुँदा उनी २६ वर्षकी थिइन्।  

विवाहको एक वर्षपछि डाँकुको सरदार रहेका झेङ्ग यीका नातेदार झेङ्ग कीलाई ग्वेन साम्राज्यको सेनाले भियतनामको सीमासँग जोडिएको जियाङ्गपिङ्गमा गिरफ्तार गरी हत्या गरिदियो।  

यो मौकाको फाइदा उठाउँदै झेङ्ग यीले झेङ्ग कीको नेतृत्वमा रहेका सम्पूर्ण डाँकुहरुलाई आफ्नो पक्षमा गोलबन्द गरे। उनी आफै सामुद्रिक डाँकु दलको सरदार (नेता) बने।  

झेङ्ग यीका एक धर्मपुत्र थिए, जो माछा मारेर गुजारा गर्ने एक परिवारका किशोर झाङ्ग बाओ साइ थिए। १५ वर्षको उमेरमा झाङ्ग बाओ साइलाई परिवारले आफूबाट छुट्ट्याएर सामुद्रिक डाँकुहरुको जिम्मा लगाएको थियो।   

आक्रमणका क्रममा धर्मपुत्र झाङ बाओ आफ्ना पिता झेङ्ग यीलाई सहयोग गर्थे। 
झेङ्ग यी चिनियाँ समुद्रमा सक्रिय सबै डाँकुहरुलाई एउटै झण्डामुनि एकिकृत गर्न चाहन्थे ताकि पोर्चुुगाली, चिनियाँ, ब्रिटिस र फ्रान्सेली सैनिकको मुकाविला गर्न सकियोस्।

चिङ सी बनिन् डाँकुकी सरदार
झेङ्ग यीको नेतृत्वमा सामुद्रिक डाँकुहरुलाई एकजुट गराउनमा चिङ सीको भूमिका महत्वपूर्ण थियो। चिङ सीले डाँकुका सरदारहरुसँग आफैँले कुराकानी गरेकी थिइन्। देहव्यापारका क्रममा भएको सम्बन्धले पनि उनलाई यसमा मद्दत गर्यो।  

झेङ्ग र चिङ्गको प्रयासका कारण सन् १८०५ सम्म चिनियाँ समुद्रमा सक्रिय सबैजसो डाँकुहरु एकै छानामुनि एकत्रित हुन पुगे। उनीहरुको पहिचानका लागि ५ वटा रङ्गका झण्डाधारी समूह निर्माण गरियो। तिनमा रातो, कालो, नीलो, सेतो, पहेंलो र बैजनी रङ्गका झण्डाधारी समूह थिए। 

यसमध्ये रातो झण्डाधारी जहाजहरुको नेतृत्व झेङ्ग यी आफैँ गर्थे। दोस्रो नम्बरको समूहको नेतृत्व उनका धर्मपुत्र बाओले गरेका थिए।

यी डाँकुहरुले समुद्रलाई आ–आफ्नो भागमा बाँडेका थिए। विभिन्न झण्डाधारी समूह र समुद्रको समेत विभाजन गरिएपनि यी सबै समूह झेङ्ग यीको नेतृत्वमा लड्न तयार थिए। 

यसरी १९ औँ शताब्दीको शुरुवातमा झेङ्ग यी एक शक्तिशाली सामुद्रिक डाँकुका सरदार बन्न पुगे। 

उनको साथ ७० हजार भन्दा बढी सामुद्रिक डाँकु र १ हजार २ सय भन्दा बढी जहाज थिए। उनको यो शक्तिको स्रोत खासमा चिङ शी थिइन्।

यसैबीच चिङ सीले दुई वटा छोराहरुलाई जन्म दिइन्– १८०३ मा झेङ्ग यिङ्गशी र १८०७ मा झेङ्ग शियोङ्गशीलाई। यद्यपी, कतिपय इतिहासकहरु दावी गर्छन् कि उनले कहिल्यै कुनै बच्चालाई जन्म दिएकी थिइनन्।

भनिन्छ, दोस्रो पुत्रको जन्म भएको केही दिनपछि नै झेङ्ग यीको निधन हुन पुग्यो। मृत्युको समय उनी ४२ वर्षका मात्र थिए। 

चिङ सी चाहन्थिन्, झेङ्ग यीको मृत्युपछि डाँकुहरुको दलको नेतृत्व अरु कसैको हातमा नजाओस्। त्यसैले, उनले धर्मपुत्र बनाइएका झाङ्ग बाओको सहयोगमा सम्पूर्ण शक्ति आफूमा केन्द्रित गरिन्।

डाँकुहरुको नियम अनुसार महिलाहरु डाँकु दलको सरदार बन्न सक्दैनथे। कुनै पानी जहाजमा कुनै महिलाको उपस्थिति हुँदा समेत खतरा आउँछ भन्ने मानिन्थ्यो।  

त्यसैले, चिङ्गले धर्मपुत्र बाओलाई नै डाँकुहरुको सरदार बनाइन्। उनी विस्तार–विस्तारै चिङ्गको कठपुतली बन्दै गए।  

केही अप्रमाणित ऐतिहासिक स्रोतले यो दावा गरेका छन् कि झाङ्ग बाओका साथ चिङ सीको नजिकको सम्बन्ध थियो। जे होस्, झाङ्ग बाओ नाममात्रका सरदार थिए। वास्तविक शक्ति चिङ सीसँग थियो। 

डाँकुहरुको यो समूहमा सैनिक संगठनमा जस्तै कडा अनुशासन थियो। नेतृत्वको आदेश पालना अनिवार्य मानिन्थ्यो। कसैले अनुशासन र आदेशको उल्लंघन गर्यो भने उ कडा सजायँको भागेदार बन्थ्यो।  

कठोर सजायँ दिन्थिन् चिङ सी
यदि कुनै सामुद्रिक डाँकुले तटीय इलाकामा कुनै महिलामाथि दुर्व्यवहार गर्यो भने उसको कान काटिन्थ्यो। कतिपयलाई नाङ्गै बनाएर घुमाइन्थ्यो र अन्य डाँकुहरुका सामु हत्या पनि गरिन्थ्यो। 

लुटिएका मालसामानहरु जम्मा गर्न एउटा भण्डार निर्माण गरिएको थियो। लुटिएका सामानहरु भण्डारमा राखिनुअघि तिनको सूची बनाउनै पर्ने नियम थियो। 

लुटमा सामेल डाँकुहरुले १० भागको एक भाग प्राप्त गर्थे। तर, यदि कुनै डाँकुले ती सामान आफूले राख्थ्यो वा चोरी गर्यो भने उसको पनि हत्या समेत गरिन्थ्यो।

लुटपाटका लागि गाउँमा प्रवेश गर्दा सामुद्रिक डाँकुहरुले महिलामाथि कुनै नोक्सान पुर्याउन र बलात्कार गर्न नहुने सहमति डाँकुले गरेका थिए। 

कुनै महिलाहरु गिरफ्तार भएका छन् भने तिनको रेकर्ड राखिन्थ्यो। उनीहरुमाथि यदि कसैले दुर्व्यवहार गर्यो भने उसले फाँसीको सजायँ पाउँथ्यो।  

भनिन्छ, सामुद्रिक डाँकुहरुका लागि तय गरिएका उपरोक्त नियमहरु क्विङ्ग राजवंशका अधिकारी युआन योङ्गलुङ्गले सामुद्रिक डाँकुहरुको महासंघका लागि निर्माण गरिदिएका थिए। 

तर केही इतिहासकारहरुको धारणा छ– उपरोक्त नियमहरु झाङ्ग बाओले निर्माण गरेका थिए। तर, अनुवादकको गल्तीका कारण यसको श्रेय चिङ सीले पाएकी हुन्।

सामुद्रिक युद्ध र आक्रामक हमला
चिङ सीका कठपुतली बनेका झाङ्ग बाओले सन् १८०८ मा पर्ल नदीको किनारस्थित एउटा गाउँमा लुटपाटको उद्देश्यले हुमेनका जनरल लिन गुओलियाङ्गको जहाजमाथि आक्रमण गरे। 

त्यो बेलासम्म सामुद्रिक डाँकुहरुले चिनियाँ पानी जहाजहरुमाथि हमला गर्दैनथे। तर, यो हमलाका कारण ३५ वटा चिनियाँ युद्धपोत ध्वस्त भए। 

यो हमलापछि डाँकुहरुले हुमेनमा बियुआन द्वीपको पूर्वी क्षेत्रमा पनि हमला गरे। हमलामा लेफ्टिनेन्ट कर्णेल लिन फा ओ पराजित भए।

यी दुई आक्रमणपछि पर्ल नदीको मार्ग सामुद्रिक डाँकुहरुको यातायातका लागि सहज भयो।

सेनासँग लड्दालड्दै त्यसताका चिङ सी सोच्न थालेकी थिइन् कि,उनको डाँकु दल आफैँमा एउटा सेना र कसैले पराजित गर्न नसक्ने शक्ति हो। 

सन् १९०९ मा क्विङ साम्राज्यको प्रान्तीय सेनाका कमाण्डर सन क्वानमउले सय वटा लडाकू बेडाका साथ दावानसान द्वीप समूहमा रहेको डाँकुहरुको एक समूहलाई घेराबन्दी गरेको थियो। डाँकुहरुले त्यसपहिले नै चिङ सीलाई आपतकालिन सन्देश पठाइसकेका थिए। 

त्यसपछि रातो र सेतो झण्डावाल डाँकुहरुको समूहका लडाकूहरु मिलेर चिनियाँ पानीजहाजमाथि हमला गरे। यो आक्रमणका कारण सन क्वानमाउ पछि हट्न बाध्य भए। 

यो हमलाको क्रममा सेतो झण्डाधारी समूहका नेता लियाङ्ग मारिएका थिए। उनी मातहतको पानीजहाजपनि ध्वस्त हुन पुग्यो। चिनियाँ पक्षतर्फ २५ वटा जहाज ध्वस्त भए।

सेतो झण्डाधारी समूहमा भएको यो क्षतिका कारण झाङ्ग बाओ निकै आक्रोसित भए। उनले रातो झण्डाधारी र कालो झण्डाधारी समूह पठाएर पर्ल नदीका आसपास रहेका सबै पानीजहाजहरु नष्ट गरिदिए। 

त्यस क्रममा जुलाईदेखि सेप्टेम्बरको बीच १० हजार मानिस मारिए। २ हजार सर्वसाधारणको पनि मृत्यु हुन पुग्यो। रातो झण्डाधारी र कालो झण्डाधारी समुहले पुरै गाउँ लुटपाट गरी तवाह नै मच्चाएको थियो। 

उनीहरुले सयौँ गाउँलेहरुलाई गिरफ्तार समेत गरेका थिए। ५ सय बेडाका साथ चिङ सीले यो लुटपाट अभियानको निगरानी गरेकी थिइन्।  

त्यसताका मकाओमाथि पोर्चुगाली साम्राज्यको नियन्त्रण थियो। त्यसैले, सामुद्रिक डाँकुमाथि नियन्त्रण स्थापित गर्न क्विङ्ग साम्राज्यले पोर्चुगाली साम्राज्यसँग सहयोग माग गर्यो। 

सामुद्रिक डाँकुहरुले त्यसअघि नै टिमोरस्थित गभर्नर मातहत रहेको इलाकामाथि कब्जा जमाइसकेका थिए। यही कारण पोर्चुगलपनि उनीहरुसँग बदलाको प्रतीक्षामा थियो।  

यसैक्रममा पोर्चुगाली पक्षले सूचना प्राप्त गर्यो कि चिङ सी आफ्ना जहाजहरुको मर्मतका लागि तुङ्गचुङ्ग खाडीमा आएकी छन्। त्यसैले, उनीमाथि घेराउ गरियो।  

सन क्वानमाउको नेतृत्वमा ९३ वटा पानीजहाजहरुले पोर्चुगललाई सहयोग गरे।सामुद्रिक डाँकुहरु फ्रान्सीसी उपनिवेश अन्तर्गतको सामुद्रिक कारोवारका लागि पनि खतराको रुपमा थिए। त्यसैले, फ्रान्सले पनि यो संघर्षमा भाग लिएको थियो।

यो लडाईं दुई हप्तासम्म चल्यो। लडाईंमा पोर्चुगलको एउटा जहाज हरायो। बदलामा सन क्वानमाउले आफ्नो एउटा जहाजमा आगो लगाए र डाँकुहरुको जहाजमा ठोक्काउन पठाए। आगोको लप्का निस्किरहेका यस्ता ४३ वटा जहाजहरु डाँकुहरुतर्फ पठाइएका थिए।

तर, हावा तीब्र गतिमा चलेका कारण ती जहाजहरु पल्टिए। क्षति सन क्वानमाउलाई नै भयो।  

चिङ सीको जहाज ध्वस्त हुन त पाएन। तर, ४३ जना सामुद्रिक डाँकुहरु मारिए। चीनको इतिहासमा यो घटना ‘बाघको मुखमा भएको लडाईं’ का रुपमा चिनिन्छ।   

आत्मसमर्पण गर्नेलाई जलसेनामा जागिर 
कालो झण्डाधारी समूहका नेता गुओ पोडाईले महसुस गरे कि यस्तो लडाईंमा ज्यान अर्पण गर्नु मुर्खतामात्रै हो। यही कारण उनले चिङ सी र झाङ्ग बाओलाई सहयोग गर्न अस्वीकार गरे।  

पोडाईले १८१० को जनवरीमा लियाङ्गजुङको भायसराय सामु आत्मसर्पण गरे। यसका लागि उनलाई उप–लेफ्टिनेन्टको पदवी दिइयो। सेनामा सामेल भएलगत्तै उनले डाँकुहरुको भोजन, इन्धन र हतियारको स्थितिबारे एक–एक गर्दै सेनालाई जानकारी दिए।

त्यसपछि सामुद्रिक लुटेराहरुको जीवनका लागि आवस्यक पर्ने सबै चिजहरुको आपूर्ति बन्द हुन पुग्यो। 

यसैक्रममा क्विङ्ग साम्राज्यले महसुस गर्यो– सामुद्रिक लुटेराहरु विरुद्ध लडाईं छेड्नु हानिकारक छ। त्यसैले, उनीहरुसँग वार्ताको योजना बन्यो। 

चिङ सी पनि वार्ताको प्रस्ताव स्वीकार गर्न बाध्य भइन्। यसर्थ कि, उनको शक्ति कमजोर भइसकेको थियो। उनको तर्फबाट बाई लिङ्गले वार्ताको नेतृत्व गरेका थिए। 

२० अप्रिल १८१० मा झाङ्ग बाओ र चिङ सीले १७ हजार भन्दा बढी सामुद्रिक डाँकुहरु, २ सय २६ युद्धपोत, १ हजार ३ सय तोप र २ हजार ७ सय अधिकारीका साथ आत्मसमर्पण गरे। 

बदलामा क्विङ्ग साम्राज्यबाट झाङ्ग बाओले २०–३० जहाजको लेफ्न्टिनेन्टको जिम्मेवारी प्राप्त गरे।    

पतिका धर्मपुत्रसँग विहे 
चिङ सीले सत्तासँग आफ्ना पतिले धर्मपुत्र बनाएका झाङ्ग बाओसँग विहेका लागि साम्राज्यसँग अनुमति मागिन्। त्यसको केही समयभित्रै वू शियरको नेतृत्वमा रहेको नीलो झण्डाधारी समूहले पनि हारको सामना गर्नुपर्यो। 

चिङ सी र झाङ्ग बाओले झाङ्ग युलिन नाम गरेका एक पुत्रीलाई जन्म दिएका थिए। १८२२ मा ३६ वर्षको उमेरमा झाङ्ग बाओको पनि मृत्यु भयो। 

झाङ्ग बाओको मृत्युपछि चिङ सी ग्वाङडोङ्ग फर्किन्। ग्वाङडोङ्ग फर्केपछि त्यहीँ उनले एउटा जुवा घर र बेश्यालयबृत्तिका लागि एक कोठीको स्थापना गरिन्। 

कुनै बेला साम्राज्यका लागि ‘खराब सपना’ बनेकी चिङ सीको ६९ वर्षको उमेरमा मृत्यु भएको थियो।  

चिङ सीको जीवन यस्ती एक देहव्यापारी महिलाको कहानी हो, जसको जीवन सत्ताको भोक, जिद्दी, युद्ध रणनीतिको कौशल र विश्वासघातले भरिपूर्ण थियो। 

कुनै कुनै इतिहासकार भन्छन्, ‘चिङ सीको जीवन कहानीले दिने सन्देश हो, कुनै कुनै महिलाले इतिहासको प्रवृति नै मोडिदिन पनि सक्छन्।’  

बीबीसी हिन्दी सेवाबाट