कात्तिक ३, २०७८ बुधबार

कञ्चनपुर : सुदूरपश्चिमका सात पहाडी जिल्लामा विद्युत्, सञ्चार र यातायात सेवा ठप्प भएको छ । सात पहाडी जिल्ला जोड्ने भीमदत्तसहित आधा दर्जन मुख्य राजमार्गमा दर्जनौं स्थानमा पहिरो गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

राजमार्गका ठाउँठाउँमा पहिरो गएको तथा सञ्चार सेवा पनि अवरुद्ध हुँदा अपडेट गर्न नपाएको ट्राफिक कार्यालयले जनाएको छ । 

महाकाली नगरपालिका वडा नम्बर ५ किमतडीस्थित गोकुलेश्वर–दार्चुला मुख्य सडक नै महाकाली नदीले बगाएको छ। झण्डै ५० मिटर सडक महाकाली नदीमा बगेको छ ।

जयपृथ्वी राजमार्ग पनि विभिन्न ठाउँमा अवरुद्ध छ। बझाङको केदारस्यु– १ नारीगौडा खोलामा जयपृथ्वी राजमार्ग अवरुद्ध छ । बित्थडचिर–२ पैरामा पहिरो जाँदा पनि राजमर्ग अवरुद्ध छ। यस्तै छबिसपाथिभरा १ जालिबगरनजिकै जयपृथ्वी राजमार्गको ५० मिटर सडकखण्ड सेती नदीले बगाएको छ। 

उता अछामको चौरपाटी–६ दुनी भावर भीरमा पहिरो खस्दा सडक अवरुद्ध छ। अछामकै पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ स्थित बिनायकमा पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । 

कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ सल्लाघारीस्थित सडकमा माथिबाट पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध छ। यस्तै डोटीको जोरायल गाउँपालिका १ मा पहिरो खसेपछि सो क्षेत्रमा पनि भिमदत्त राजमार्ग अवरुद्ध छ। 

बाजुराको बुढीगङ्गा नगरपालिका ३ ताप्रिसेरा, वडा नम्बर ६ बार्जुगार्ड, वडा नम्बर ८ रिठाबजार र वडा नम्बर १० दाब बजारमा पहिरो खस्दा साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ।