कात्तिक ३, २०७८ बुधबार

बङ्गलादेशमा दुर्गा पूजाका अवसरमा हिन्दू धर्मावलम्बीको घर र पूजास्थलमा भएको हमलाको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले निन्दा गरेका छन् ।

उनले हिन्दू समुदायप्रति समवेदना व्यक्त गर्दै घटनाको सही रूपमा जाँच तथा मानवअधिकारको रक्षा गर्न त्यहाँको प्रशासनसँग माग गरेका छन् ।


बङ्गलादेशमा दुर्गा पूजाका क्रममा ठूलो परिमाणमा भएको हिंसा र हिन्दुका घर र मन्दिरमा भएको तोडफोडको विरोधमा बङ्गलादेशी हिन्दू प्रवासीले वासिंगटनस्थित बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन गरेका छन् ।


अमेरिकास्थित हिन्दु एडभोकेसी समूह ‘हिन्दूप्याक्ट’ का कार्यकारी निर्देशक उत्सव चक्रवर्तीले भने, ‘हिन्दूमाथि भएको हमला भयानक थियो, अक्टुबर १९४६ मा त्यहाँ १२ हजार हिन्दूको हत्या गरिएको थियो भने ५० हजार जनालाई इस्लाम अपनाउन बाध्य तुल्याइएको थियो ।’


सो संस्थाले बङ्गलादेशमा हिन्दु संगठन भेदभाव र घृणाको सिकार हुँदै आएको जनाएको छ । बङ्गलादेशमा १९४० मा हिन्दुको जनसङ्ख्या २८ प्रतिशत रहेकोमा अहिले घटेर ९ प्रतिशतमा सीमित भएको पनि सो संगठनले जनाएको छ ।