गोरखा, २६ जेठः गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका सबै घरको सामूहिक बिमा गरिने भएको छ । पालिकाभित्र विसं २०७२ बैशाख १२ को विनाशकारी भूकम्पअघि बनेका पक्की घर तथा भूकम्पपछि पुनर्निर्माणको मापदण्ड पूरा गरेका सबै घरको बिमा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।
गाउँपालिकाले पालिकाका सबै नागरिकको निजी आवास तथा अन्य सरकारी एवं गैरसरकारी भवनको जोखिम न्यूनीकरणका लागि बिमा गर्ने कार्यक्रम सुरुआत गरिएको उहाँले बताउनुभयो ।
घरको सामूहिक बिमा गर्न गाउँपालिका र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । “सम्झौतालगत्तै गाउँपालिकाको प्रशासकीय भवनको बीमा गरेर कार्यक्रमको औपचारिक सुरुआत भएको छ”, अध्यक्ष बन्जराले भन्नुभयो, “अब पालिकाभित्रका सबै घर र सरकारी तथा गैरसरकारी भवनको बिमा गरिनेछ ।”
सामूहिक बिमा गरेका घरहरूमा कुनै पनि प्राकृतिक विपत्ति, आगलागी तथा अन्य जोखिमका कारण क्षति भएमा बिमामार्फत क्षतिपूर्ति रकम भुक्तानी हुनेछ । घर बिमाका लागि पालिकावासीले वडा कार्यालयमार्फत बिमा सेवा लिनसक्ने व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।
पालिका र बिमा कम्पनीबीच भएको सम्झौतामा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर निर्माण गरिएका घर, भूकम्पपछि मापदण्डअनुसार पुनर्निर्माण गरिएका घरलाई बिमाको दायरामा समेटिने उहाँले बताउनुभयो ।
तर बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका घर तथा खोलानाला, सडक मापदण्डभित्र पर्ने संरचना र पूर्ण रूपमा काठ, टिन र माटोले बनेका घर भने बिमाको मापदण्डभित्र पर्ने उल्लेख छ ।
गाउँपालिकाले प्रतिघर न्यूनतम वार्षिक २५० रुपैयाँ सम्पत्ति कर लिने र सोहीबाट बिमाका रकमको व्यवस्थापन गर्ने योजना बनाएको प्रसासकीय अधिकृत अधिकारीले बताउनुभयो । “अहिलेसम्म करिब तीन हजार ५०० घरको बिमा हुन्छ भन्ने अनुमान गरिएको छ, बिमापछि प्राकृतिक विपत्तिबाट कुनै घरमा क्षति पुगे अधिकतम रु चार लाखसम्म क्षतिपूर्ति पाउनेछन्”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार बिमा कम्पनीले घरधनीका नाममा बिमा अभिलेख जारी गर्ने र क्षतिपूर्तिका लागि क्षति पुगेको ३० दिनभित्र बिमा कम्पनीलाई जानकारी गराउनुपर्ने सम्झौता उल्लेख गरिएको छ ।
–––