जेठ २७, २०८३ बुधबार

काठमाडौँ, २७ जेठः एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । यो हारसँगै नेपाल एसिसी ‘टि ट्वान्टी’ एसिया कप छनोट होडबाट बाहिरिएको छ ।

    मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको हो । थाइल्याण्डले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७४ रनमा समेटियो ।

    नेपालका लागि रुविना क्षेत्रीले अविजित २० रनको योगदान दिइन् । यस्तै, सोनी पाख्रिनले १५ तथा सम्झना खड्का र सीता रानामगरले समान १२÷१२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ३० रनको योगफल बनाएको थियो ।

    थाइल्याण्डकी नानापाट खोन्चारोयन्काइले अविजित ६२ रनको योगदान दिइन् । यस्तै, फानिता मायाले २६ रन बनाइन् भने चानिदा सुथिरूवाङले १६ तथा कप्तान नारूमोइ चाइवाइ ८ रन बनाइन् ।

    बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान १÷१ विकेट लिए । यसै महिना मलेसियामा नै भएको खेलमा नेपाल चीनसँग पराजित हुँदै एसियन गेम्स छनोटबाट पनि बाहिरिएको थियो । एसियन गेम्स यसैवर्ष जापानमा हुँदैछ ।