कात्तिक ४, २०७८ बिहिबार

४ कात्तिक, काठमाडौं । नवरात्रको अष्टमीका दिन बंगलादेशको कुमिल्ला शहरमा दुर्गा पूजाको पण्डालमा इस्लाम धर्मको पुस्तक कुरान राख्ने व्यक्तिको पहिचान भइसकेको र उसको खोजी भइरहेको प्रहरी अधिकारीले बताएका छन् ।

दुर्गा पूजाको पण्डालमा कुरान राखिदिएको घटनाका कारण बङ्गलादेशमा हिंसा भड्किँदा सात जनाको मृत्यु भएको थियो भने कयौं घाइते भएका छन् । हिन्दु मन्दिर, घरलगायतका भौतिक संरचनामा क्षति पुगेको छ ।

प्रहरी अधिकारीहरूले सिसिटिभी फुटेजका आधारमा कुरान राखिदिने व्यक्तिको पहिचान भइसकेको भन्दै उनलाई पक्राउ गर्ने अभियान चलाइएको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा शेयर गरिएको सिसिटिभी फुटेजमा एक व्यक्ति हातमा केही कुरा समातेर दुर्गा पूजा भइरहेको स्थानमा पुगेको र हनुमानले बोक्ने गदा लिएर फर्किएको देखिन्छ । त्यसपछि केही व्यक्तिहरू त्यहाँ जम्मा भएर कुरानको अपमान गरेको भन्दै पण्डालमा तोडफोड गर्छन् ।

कुमिल्ला शहरमा भएको यस घटनालगत्तै बङ्गलादेशको चाँदपुरलगायतका स्थानहरूमा हिन्दु मन्दिरहरूमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार कुमिल्ला, चाँदपुरको हाजीगञ्ज, नोआखालीको बेगमगञ्ज, रङ्गपुरको पीरगञ्ज, कोक्स बजार, हबीगञ्ज र गाजीपुरमा तोडफोड र आक्रमणका घटना भएका थिए । एक हप्ताको बीचमा भएको यस घटनाका कारण सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये दुई जना हिन्दू हुन् ।

प्रहरी अधिकारीले दुर्गा पूजाको पण्डालमा कुरान राखिदिने व्यक्तिको पहिचान भएको बताए पनि ती व्यक्तिको नाम-ठेगाना खुलाउन चाहेका छैनन् । तर बङ्गलादेशको अखबार डेली अब्जर्भरले प्रहरी स्रोतलाई उल्लेख गर्दै ती व्यक्ति इकबाल हुसेन भएको जनाएको छ । पत्रिकाका अनुसार ती व्यक्ति सुजाननगरका बासिन्दा हुन् ।

यसैगरी इकबालका भाइ रेहनले उनको खोजीमा प्रहरीलाई सघाइरहेको बताएका छन् ।

इकबालको परिवारका सदस्यहरूले यदि उनी दोषी भए कारबाही हुनुपर्ने बताएको ढाका टि्रब्युनको रिपोर्टमा उल्लेख छ ।