नेत्रविक्रम चन्द 'विप्लव' ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच गृह मन्त्रालयमा मङ्गलवार भएको छलफलमा विप्लव समूहसँग भएका भनिएका हतियार फिर्ताको प्रसङ्ग पनि उठेको महान्यायाधिवक्ता खम्बबहादुर खातीले बताएका छन् ।
त्यस वार्तामा उक्त दलसँग भएका हातहतियार राज्यलाई बुझाउन आग्रह गरिएको छ ।
"तपाईँहरूसँग हातहतियार वा अरू केही छन् भने त्यो बुझाउने तत्परता पनि गर्नुपर्छ। अन्यथा मुद्दा मामिला फिर्ता भएपछि फेरि भेटियो भने त्यसको जिम्मेवारी तपाईँहरू नै हुनुपर्छ भन्ने कुरा भयो," महान्यायाधिवक्ता खातीले भने "उहाँहरूले 'हामीसँग त्यस्तो केही भए बुझाउँछौँ, नभएका चिज ल्याएर बुझाउने कुरा भएन' भन्ने कुरा गर्नुभयो।"
विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै उक्त समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो।