रोल्पा । एकपटक हत्या गरेर जेल जीवन बिताएका अमराज बुढाले फेरि अर्को हत्या गरेका छन् । अमराजले दाइ पूर्णबहादुर बुढाको जग्गा विवादका कारण आफूले हत्या गरेको स्वीकार गरेका छन् ।
कर्तव्य ज्यान मुद्धामा अदालती फैसलाअनुसार ९ वर्ष जेल जीवन बिताएर घर फर्केका उनले जग्गा विवादका नाममा आफ्नै दाजुको हत्या गरे । २०६४ साल फाल्गुन १६ गते रोल्पा नगरपालिका ९ होमाकी ७२ वर्षीया बृद्धा गला बुढामगरको हत्या गरेका रोल्पा नगरपालिका ६ का ४७ वर्षीय अमराजले २०७८ असोज २४ गते राती सहोदर दाइ ५६ वर्षीय पूर्णबहादुर बुढाको हत्या गरेका थिए। सरकारले विभिन्न दिवसमा कैद मिनाहा गर्दा पहुँच र आफनो भोट निकटताका आधारमा सिफारिस गर्ने गरेको परिणाम पूर्णबहादुरको हत्या भएको हो ।
अर्कोतिर ज्यान मारेको व्यक्तिलाई सरकारले गणतन्त्र दिवसका अवसरमा २०७३ जेठ १५ गते कैद मिनाहा गर्दै कारागार मुक्त गरेको तुलसीपुर कारागारको अभिलेखमा देखिएको छ।
हत्याको खबर पाएसँगै तत्काल घटनास्थल पुगेर घटना हेरेका रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार अघिल्लो दिन नै शङ्काको घेरामा परेका अमराजको घर कुकुरले पच्छ्याउँदै गएको थियो। आरोपितको विगत सुनेको रोल्पा प्रहरीलाई तालिम प्राप्त कुकुरले पनि अनुसन्धानमा सजिलो बनायो ।