पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेशले आयोजना गरेको शिव सँस्कृति र महाशिवरात्री पर्वको महिमा विषयक गोष्ठीलाई गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङले सम्बोधन गर्ने भएका छन । फाल्गुण २७ गते काश्की जिल्लाको बास्तोलाथर स्थित पोखरा पार्टी प्यालेसमा बिहान १०ः३० बजेदेखि शुभारम्भ गरिने कार्यक्रममा संस्कृतविद एवं नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङको शिव संस्कृति र महाशिवरात्री पर्व महिमा विषयक विशेष प्रस्तुति रहने गरि कार्यतालिका तय गरिएको पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश ईन्चार्ज प्रदिप कुमार श्रेष्ठले अवगत गराए ।
श्रेष्ठले वातावरणविद एवं पातञ्जल योग समिति नेपालका केन्द्रिय सल्लाहकार हिम्मत सिंह लेकालीले स्वस्थ समाज र सकारात्मक सोच निर्माणमा पातञ्जल योगको भूमिकाको बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका समेत निर्धारित कार्यक्रममा जोडिएको उल्लेख गरेका छन्हरेक वर्ष फाल्गुण कृष्ण त्रयोदशीका दिन मनाईने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपुर्ण अवस्थामा रहेका प्राणीहरुको ह्रदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनको रुपमा लिईने गरिन्छ । व्रतोत्सवहरुमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरुले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत वस्ने र भगवान शिवको प्रिय वस्तु दुध,धतुरो र बेलपत्र चढाउने गरिन्छ ।
राष्ट्रिय कलाकारहरुको समेत उपस्थितिका विच विविध आर्कषक साँस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न गरिने निर्धारित कार्यक्रममा सहभागीताको लागि कार्यक्रम प्रति जिज्ञासा राख्ने लगायत यस कार्यक्रमलाई माया गर्नुहुने सम्पुर्णमा पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेशका अध्यक्ष कमला गुरुले आमन्त्रण गरेकी छिन् । त्यसैगरि देशभरबाट उपस्थिति रहने अपेक्षा गरिएको निर्धारित शिवरात्री विशेष गोष्ठी कार्यक्रमलाई पातञ्जल योग समिति नेपालका प्रमुख संरक्षक डा।चन्द्रमणी खनाल,संरक्षक बालमुकुन्द सुवाल,केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदी,केन्द्रिय महासचिव नबराज काफ्ले लगायतले समेत सम्बोधन गर्ने पातञ्जल योग समिति गण्डकी प्रदेशका महासचिव रश्मी भण्डारीले अवगत गराईन ।
