सुर्खेत । बाह्रैमास घलेकको भरमा आधा जीउ ढाक्ने राउटेलाई पछिल्ला केही वर्षयता गर्मी र जाडो दुवैले उत्तिकै सताउन थालेको छ । बालबालिका, सुत्केरी महिला र वृद्धहरूमा देखिएको स्वास्थ्य समस्या समाधानमा परम्परागत शैलीलाई अनुसरण गरेका कारण पछिल्लो एक वर्षमा राउटे समुदायमा एक दर्जनबढीको मृत्युु हुनुले यस समुदायको संरक्षणमा चुनौती थपिएको छ ।
राउटे समुदायका अधिकांश बालबालिकामा कुषोषणको समस्या देखिएको छ । सानो उमेरमा नै मदिराको लत, ठाउँ ठाउँको बसाइसराइँ, असन्तुलित खाना र परम्परागत जीवनशैलीका कारण यसको असर राउटे समुदायका बालबालिकामा परेको छ । राउने बस्तीमा विभिन्न समयमा गरिने चेकजाँचका क्रममा पोषणको कमी, छालासम्बन्धी चिलाउने रोग, खोकी, ज्वरोलगायतका समस्या भेटिने गरेको राउटे कर्णबहादुर शाही बताउँछन् ।
राष्ट्रिय जनगणना २०७८ का लागि राष्ट्रिय जनगणना कार्यालय सल्यानले गरेको सर्वेक्षणका क्रममा राउटे समुदायमा ४२ घरधुरी रहेको पाइएको छ । जसमा महिला ७४ र पुरुष ६६ गरेर एक सय ४० जना रहेका छन् । राउटे समुदायमा पनि कल्याण, रासकोटी र समाल गरेर तीन जाती रहेका छन् ।
जिल्ला विकास समिति दैलेखले २०६३ सालमा गरेको गणना अनुसार राउटेको सङ्ख्या १ सय ६० रहेको थियो । तर २०६८ को जनगणनामा राउटेको जनसङ्ख्या ६ सय १८ भएको देखिन्छ । अस्वस्थ खानपान, जीवनशैली र मदिराप्रतिको मोहका कारण राउटेको जनसङ्ख्या घटेको हो । तर आफ्नो समुदायकोे अवस्था र जनसङ्ख्याबारे राउटे समुदायले कुनै तथ्याङ्क दिन चाहँदैनन् भन्छन् राउटे अगुवा ।
समुदायबाट अलग्गै बस्ने र जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेलाई आधुनिकताले सताएको छ । काठका विभिन्न सामग्री बनाएर आफ्नो जीविका चलाउने र जङ्गलका कन्दमूल तथा विभिन्न जडीबुटी ल्याएर खान्थे । बाँदर शिकार गर्ने उनीहरू पैसा छोए पाप लाग्छ भन्ने र प्रकृतिमै रमाएकाले बिरामी परे पनि जडीबुटीे प्रयोग गर्थे तर अहिले बिरामी हुँदा औषधि उपचारमा चासो नदिने गरेको राउटे मुुखिया वीरबहादुुर शाहीले बताए ।