अफगानिस्तानमा तालिबानको कब्जा पछि अब संयुक्त राष्ट्र संघमा अफगानिस्तानको प्रतिनिधित्व कसले गर्ने भन्ने विषयमा मत मतान्तर भैरहेको छ।
बिहीबार संयुक्त राष्ट्र संगठनको न्युयोर्क स्थित मुख्यालयको भ्रमणको क्रममा अफगान महिलाहरुको एउटा समूहले संयुक्त राष्ट्र संघलाई तालिबानलाई विश्व निकायमा आफ्नो स्थान प्राप्त गर्नबाट रोक्न आग्रह गरेको थियो।
अफगानिस्तानका पूर्व राजनीतिज्ञ र शान्ति वार्ताकार फौजिया कूफीले न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषद बाहिर पत्रकारहरुलाई संयुक्त राष्ट्र संघले अफगानिस्तानमा सबैको अधिकारको सम्मान गर्नु पर्ने कुरा बताईन। उनले विश्वले समावेशीकरण, महिला अधिकारको सम्मानलाई ध्यान दिनु पर्ने बताईन। कुफीसँग पूर्व राजनीतिज्ञ नाहिद फरीद, पूर्व कूटनीतिज्ञ असिला वर्दक र पत्रकार अनिसा शहीद पनि सामेल थिए।
फरीदले तालिबानले अफगानिस्तानलाई कब्जा गर्दा महिलाहरुलाई आफ्नो जागिर सुचारु गर्न र स्कूल फर्कन अनुमति दिने भनेपनि उनीहरुले त्यो वाचा पूरा नगरेको स्पष्ट पारिन।
अगस्टको मध्यमा सत्ता कब्जा गरिसकेपछि तालिबान नेताहरूले शरिया वा इस्लामिक कानून अनुसार महिला अधिकारको सम्मान गर्ने वाचा गरेका छन्। तर सन १९९६ देखि सन २००१ सम्म तालिबान शासन अन्तर्गत महिलाहरुले काम गर्न सकेनन्। केटीहरुलाई स्कुलबाट प्रतिबन्ध लगाइयो। महिलाहरु आफ्नो अनुहार छोप्नु पर्ने र घर छोड्दा एक पुरुष नातेदार संगै हुनुपर्ने जस्ता नियम मान्न बाध्य भएका थिए।
संयुक्त राष्ट्र संघले अफगानिस्तानको प्रतिनिधित्व कसले गर्ने भन्ने प्रतिद्वन्द्वी दाबीमा विचार गरिरहेको छ। तालिबानले आफ्नो दोहास्थित प्रवक्ता सुहेल शाहीनलाई संयुक्त राष्ट्रसंघको राजदूत नियुक्त गरेको छ जबकि तालिबानले हटाएको सरकारको प्रतिनिधित्व गर्ने संयुक्त राष्ट्र संघका दूत गुलाम इसाकजाई अफगानिस्तानको सिटमा रहन खोजिरहेका छन्।
संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले यस वर्षको अन्त्यसम्ममा यसबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।