कात्तिक ५, २०७८ शुक्रबार

नेपालमार्ग डेस्क, काठमाडौं । केही दिनको अविरल वर्षाका कारण बाढी र पहिरामा परी देशैभर १ सय चार जनाले ज्यान गुमाएको गृह मन्त्रालयको हिजो बेलुकासम्मको तथ्याङ्कले देखाएको छ । यस्तै ४१ जना घाइते छन् भने ४३ जना हराइरहेका छन् ।

बाढीका कारण देशभर २ हजार २ सय ३२ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ । कार्यालयका अनुसार ४९ घर, ८ गोठ, ६ पुल र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ पशुचौपाया मरेका छन् । विपद्‍का घटनाबाट १ हजार १ सय ७७ परिवार विस्थापित भएका छन् । लगभग कृषको धानबालीमा ठूलो क्षति पुगेको छ । यसवेला पीडितहरूका आँखामा आँसु छ ।

तर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पारिवारिक भ्रमणका क्रममा नाति नातिनीसहित धुलिखेल पुगेर क्लासिक जीप-लाइनमा रमाइरहेकाे भिडियो भाइरल भएको छ । साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै दाहालले आफूले जीपलाइनको मज्जा लिएको बताएका छन् । बेमौसमी वर्षाबाट सिर्जित बाढी–पहिराका कारण देशभरका कृषक मारमा रहेका वेला गठबन्धन दलका मुख्य नेता दाहालले मस्ती गर्नुलाई धेरैले कृषकको समवेदनाको उपहास भनेका छन् ।