असार १, २०८३ सोमबार

फुङ्लिङ (ताप्लेजुङ), १ असारः अलैँची प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा असारको १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सवको आयोजना हुने भएको छ । 
     
ताप्लेजुङमा पहिलोपटक उक्त महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङले बताउनुभयो ।
    
आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको सो महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फल प्रदर्शनी, अलैँचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैँची बगान तथा कमजोर अलैँची बगानको प्रदर्शनी र अवलोकनलगायतका गतिविधि हुने आयोजकले बताउनुभएको छ । 
    
महोत्सवमा अलैँची किसान कार्यशाला, अलैँची व्यवसायी र  खरिदकर्ता र बिक्रेताबीच अन्तरक्रिया, अलैँची विज्ञ टोलीबीच अलैँचीको आधुनिक खेती र बजार विस्तारसम्बन्धी छलफलको कार्यक्रम रहेको समितिका संयोजक आङ्बुहाङले जानकारी दिनुभयो ।
    
अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीको रुपमा रहेको छ । ताप्लेजुङमा तीन हजार ७०० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुनेगरेको पाइन्छ ।