कात्तिक ७, २०७८ आइतबार

काठमाडौं । फ्रान्सेली कम्पनी आइडिमियाले स्मार्ट कार्ड छपाइको प्रक्रिया सुरु गर्न लागेसँगै आगामी दुई महिनामा नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारले तयारी थालेको छ ।

यसअघि एक लाख १७ हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको थियो ।

राष्ट्रिय परिचयपत्र मूलतः सूचना प्रविधिमा आधारित हुनेछ । त्यसमा नागिरकतामा हुने व्यक्तिको जनसाङ्खिक विवरणबाहेक अनुहार (फोटो), दश ओटै औंलाको औंठाछाप, दुई आँखाको आइरिसलगायतको व्यक्तिको जैविक विवरणका साथै विद्युतीय हस्ताक्षरको रूपमा ई–सिग्नेचरसमेत राखिनेछ ।

विभागको राष्ट्रिय प्रणालीमा दर्ता भएका व्यक्तिहरूलाई आउँदो डिसेम्बर वा जनवरीदेखि परिचयपत्र वितरण गर्ने तयारी भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका इन्जिनियर ज्ञानेश्वर बोहोराले जानकारी दिए ।

उनका अनुसार हालसम्म विभिन्न जिल्ला गरी ३५ लाख बढीको विवरण सङ्कलन भएको छ । नयाँ कार्डमा क्यूआर कोड फिचरसहित लेआउट र डिजाइन केही अप्टिमाइज हुने उनले बताए ।