आज मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली छ भने बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का÷फाटफुट वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (आइतबार) बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। सबै प्रदेशका थोरै(थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने बागमती र प्रदेश नं १ का थोरै स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
बुलेटिनमा अगाडि भनिएको छ : साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
(नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान ६ बजेदेखि दिनभर अर्थात् साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि रातभर अर्थात् भोलि बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ। यस्तै आंशिक बदली भनेको धेरैजसो आकाश खुला, थोरै बादल तथा सामान्य बदली भनेको यसको उल्टो अवस्था हो।)