भैरहवामा आयोजना गर्न लागिएको धर्मसभालाई सम्बोधन गर्न जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द आज नेपाल आउँदै छन् ।
भैरहवाको महेन्द्रसभा गृहमा धर्मसभा आयोजना हुँदै छ । उक्त धर्मसभामा सहभागी हुन नेपालका सनातन धर्म तथा ओमकार परिवारका विद्वान् भैरहवा आइपुगेका छन् ।
वैदिक, बौद्ध, जैन, सिख, किरात र बोनलगायत सनातन ओमकार परिवारको विशेषता, पहिचान र सम्मान कायम गर्न नेपालको संविधानमा सनातन हिन्दू धर्म सापेक्षताको पहिचान पुनःस्थापित गर्ने ध्येयले धर्मसभा आयोजना गरिएको बताइएको छ ।
धर्मसभा मूल आयोजक समितिका सदस्य व्यासमुनि आचार्य किशोर गौतमका अनुसार समस्त ओमकार परिवारबीच एकता कायम गर्नेगरी राष्ट्र, राष्ट्रियता, स्वधर्म र स्वसंस्कृतिको रक्षाका लागि एकजुट भई विश्व ओमकार एकता महाअभियानको सिलसिलामा धर्मसभाको आयोजना गरिएको हो। ओमकारमूलक पन्थ, सम्प्रदाय, सङ्घसंस्था र व्यक्तिसँग विश्वस्तरमै सत्य प्रेम, शान्ति, सेवा, अहिंसा आदि मानवीय मूल्यसहित सहकार्यगरी नेपाललाई हिन्दू राष्ट्रका रूपमा पुनः स्थापित गर्न धर्मसभा आयोजना गरिएको बताइएको छ।