फागुन २६, २०७७ बुधबार


काठमाण्डौ।
बोरुसिया डर्टमन्डका फरर्वाड एर्लिङ ब्राउट हालान्डले मंगलबार राति सेभियाविरुद्ध दुई गोल गर्दै च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान कायम गरेका छन् । खेलको ३५ औँ मिनेटमा डर्टमन्डलाई अग्रता दिलाएका हालान्डले दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

नर्वेका खेलाडी रहेका उनले प्रतियोगितामा यो २० औँ गोल थियो । उनले १४ खेलमा यो उपलब्धी हासिल गरेका छन् । प्रतियोगितामा कम खेलमा २० गोल पुरा गर्ने उनी पहिलो खेलाडी हुन्।

योसँगै हालान्डले कम उमेरमा  सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । यसअघि किलियान एम्बाप्पेले १९ गोलको कीर्तिमान रहेको थियो । यो सिजन हालान्डले ३० खेलमा ३२ गोल गरेका छन् ।


खेलको अन्त्यतिर युसेफ एन नेसरीले दुई गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो । तर, पहिलो लेगमा ३–२ को जीत हासिल गरेको डर्टमन्डले समग्रमा ५–४ को जीत हासिल गदै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउन सफल रह्यो ।