बागमती, ४ असारः सङ्कटापन्न प्रजाति, सालकको संरक्षणमा मकवानपुर जिल्लाका सामुदायिक वनउपभोक्ता समितिहरु जुटेका छन् ।
मकवानपुर जिल्लाका विभिन्न सामुदायिक वनले सालक संरक्षणमा सक्रियता देखाएसँगै डिभिजन वन कार्यालय, मकवानपुरले संरक्षणका लागि विभिन्न कार्यक्रम अघि बढाएको हो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं ६ स्थित रानी सामुदायिक वन उपभोक्ता समूहले दुर्लभ वन्यजन्तु सालक संरक्षणमा सक्रियता देखाएसँगै जिल्लाका विभिन्न सामुदायिक वनले सालक संरक्षणमा जोड दिँदै आएका छन् ।
करिब १३४ हेक्टर क्षेत्रफलको रानी सामुदायिक वनमा २०६२ सालदेखि सालक संरक्षण अभियान थालिएको वन उपभोक्ता समूहका अध्यक्ष भीमसेन पौडेलले जानकारी दिनुुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ अनुसार सालक मार्ने, खरिद वा बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई रु पाँच लाखदेखि रु १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ ।
“हामीले सुरुसुरुमा सालक फेला परेपछि हेटौँडाको सहिद स्मारक पार्कमा लगेर बुझाउने गरेका थियौँ”, उहाँले भन्नुुभयो, “उक्त स्मारक क्षेत्रमा हावापानी नमिलेका कारण सालक बाँच्न सकेनन् । पछि हाम्रै सामुदायिक वनमा संरक्षण गरेर राख्न थालेका हौँ ।”
उहाँका अनुसार सालक किसानको साथी हो । धमिरा तथा किरा खाएर यसले पर्यावरणमा सहयोग पु¥याउने गरेको छ ।
वन उपभोक्ता समूहका सदस्यले सालकलाई आफ्नै परिवारका सदस्य जस्तै गरी संरक्षण गरिरहेको उहाँले जानकारी दिनुुभयो ।
रानी सामुदायिक वन क्षेत्रमा हाल करिब पाँच दर्जनको सङ्ख्यामा सालक रहेको अनुमान गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुुभयो ।
सालक संरक्षणका लागि उपभोक्ता समूहका तर्फबाट विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइएको बताउँदै उहाँले विद्यालयस्तरीय अभियान, बासस्थान संरक्षण, कानुनी सचेतना, होर्डिङ बोर्ड स्थापना तथा सालकको मूर्ति निर्माणजस्ता विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुुभयो ।
“मकवानपुरभित्र तथा अन्य स्थानमा फेला परेका सालकसमेत रानी सामुदायिक वनमा ल्याएर संरक्षण गर्ने गरिएको छ”, उहाँले भन्नुुभयो, “विभिन्न स्थानमा फेला परेका सालक ल्याएर समूहमा बुझाउने व्यक्तिलाई समूहका तर्फबाट सम्मानसमेत गर्ने गरिएको छ ।”
अत्यन्त लजालु स्वभावको सालक विशेषगरी रातिको समयमा सक्रिय हुने गर्दछ । यसको मुख्य आहारा धमिरा र कमिला नै भएको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले जानकारी दिनुुभयो ।
राष्ट्रिय निकुञ्ज ऐनले सालकलाई संरक्षित स्तनधारी प्राणीका रुपमा राखेको जानकारी दिँदै उहाँले सालकको संरक्षणका लागि कार्यालयले सामुदायिक वन उपभोक्तासँग मिलेर काम गरिरहेको बताउनुभयो ।
“सालकका लागि धमिरा र कमिला नै मुख्य आहारा हुने भएकाले डढेलो सालकको जीवनयापनका लागि प्रमुख चुनौती नै हो”, उहाँले भन्नुुभयो, “सालकाको संरक्षणका लागि उनीहरूको बासस्थान सुनिश्चित गर्न डढेलो लाग्न नै नदिनका लागि सबैको सक्रियता आवश्यक हुन्छ ।”
अति लजालु, संवेदनशील एवं शान्त वातावरणमा बस्न रुचाउने सालक मानवलाई हानि नगर्ने र ‘इकोसिस्टम’लाई प्रभावकारी बनाउने प्राणीका रुपमा रहेको उहाँको भनाइ छ ।
सालकले एक वर्षमा सरदर सात करोड धमिरालगायत कीराफट्याङ्ग्रा खाने विज्ञहरू बताउँछन् ।
मकवानपुरकै हेटौँडा उपमहानगरपालिका वडा नं १७ स्थित चुच्चे खोला सामुदायिक वनले २०७६ सालदेखि निरन्तर रुपमा सालक संरक्षण गरिहेको वन उपभोक्ता समूहका अध्यक्ष केदार गौतमले बताउनुुभयो ।
उहाँका अनुसार यहाँको २३८.१९ हेक्टर वनमा हाल दुुई सयभन्दा बढी सालक रहेको अनुमान गरिएको छ ।
सुरुमा यहाँको जङ्गलमा २०५७ सालमा पहिलो पटक सालक भेटिएको थियो । त्यस्तै २०६३ मा पनि सालक भेटिएपछि यसतर्फको चासो बढेको हो ।
यहाँको सामुदायिक वन २०७६ सालमा जुलोजिकल सोसाइटी अफ लण्डनसँग जोडिएपछि औपचारिक रुपमा सालक संरक्षणका लागि समूह क्रियाशिल बनेको हो ।
वनमा विभिन्न स्थानबाट २५ सालक उद्धार गरी ल्याइएको बताउँदै उहाँले सामुदायिक वनमा विश्वमा नै दुर्लभ कालो सालक ठूलो सङ्ख्यामा पाउने गरिएको जानकारी दिनुुभयो । यस जङ्गलमा तामे सालक पनि पाइने उहाँले जानकारी दिनुुभयो ।
गौतमका अनुुसार विश्वमा आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति कालो सालक र तामे सालक नेपालमा पाइन्छ ।
एसियन तथा युरोपीय महाद्वीपमा चार प्रजातिका सालक पाइन्छन् । प्रायः समुन्द्री सतहदेखि दुई हजार मिटरसम्मको उचाइमा सालक पाउने गरिएको छ ।