ट्वान्टी–२० विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानबीच खेल हुँदै छ ।
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले ट्वान्टी–२० विश्वकपको पहिलो खेलमा बलियो टोली पाकिस्तानसँग खेल्ने उल्लेख गर्दै आफ्नो विपक्षीविरुद्धको अपराजित यात्रालाई समेत जारी राख्ने बताएका छन्।
ट्वान्टी–२० र एकदिवसीय विश्वकप गरी भारत र पाकिस्तानबीच कुल १२ पटक भेट हुँदा कोहलीको टोलीले छिमेकी प्रतिद्वन्द्वीविरुद्ध सतप्रतिशत सफलता प्राप्त गरेको छ। आइतबार यी दुई कट्टर प्रतिद्वन्द्वीबीच दुबईमा प्रतिस्पर्धा हुँदै छ। ‘हामी रेकर्ड या पछिल्ला प्रदर्शनबारे चर्चा गर्न नै चाहदैनौं,’भारतका कप्तान कोहलीले भने, ‘यी तथ्यहरूले ध्यान भङ्ग गर्दछ। हामीले कस्तो किसिमका तयारी गरिरहेका छौं भन्ने नै प्रमुख कुरा हो। विपक्षी टोलीका बारेमा टिप्पणी गर्नुभन्दा हामी विशेष दिनतर्फ ध्यान दिन चाहन्छौं।’
पाकिस्तान सदैव क्षमतावान् खेलाडीले भरिपूर्ण रहने गरेको कोहलीको भनाइ छ। ‘मेरो विचारमा पाकिस्तान निकै बलियो टोली हो। हरेक प्रतियोगितामा पाकिस्तान बलियो नै देखिने गरेको छ,’कोहलीले भने, ‘हामीले उनीहरूविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्छ। किनकि पाकिस्तानमा निकै प्रतिभावान् खेलाडी छन्, जसले कुनै पनि समय खेललाई परिवर्तन गराउन सक्छन्।’ बाबर आजमको कप्तानी रहने पाकिस्तान पनि भारतसँगको खराब नतिजा तोड्ने लक्ष्यमा हुनेछ। कप्तान बाबरसहित मोहम्मद रिजवान र फखर जमान पाकिस्तानको प्रमुख ब्याटिङ हतियार हुनेछन्।
साहिन साह अफ्रिदी र हसन अलीको बलिङ अट्याकले पनि पाकिस्तानलाई दरिलो साथ दिनेमा दुई मत छैन। ‘म्याच विनिङ’ प्रदर्शन गर्न सक्ने अलराउन्डर हार्दिक पाड्याको पुनरागमनले पनि भारतका लागि राम्रो सङ्केत रहेको छ। यद्यपि, उनले पछिल्ला समय बलिङमा निकै संघर्ष गरिरहेका छन्। ‘हार्दिकले हाम्रा लागि दुई ओभर बलिङ गर्न सके पनि राम्रो हुनेछ,’कोहलीले भने, ‘६ नम्बरमा ब्याटिङलाई पनि उनले विशेष नै बनाउनेमा विश्वस्त छु। हरेक दिन राम्रो नै हुन्छ भन्ने चाहि होइन।’
हार्दिक सन् २०१६ मा भारतका लागि उत्कृष्ट अलराउन्डरका रूपमा देखा परेका थिए। तर, पछिल्ला समय उनलाई चोटले निकै सताएको छ र दुई वर्ष अगाडि उनले सर्जरी पनि गर्नु परेको थियो। कोहलीले छोटो फरम्याटको क्रिकेटका लागि आक्रामक ब्याट्सम्यान टोलीको सम्पति नै रहने गरेको समेत चर्चा गरेका छन्। यो विश्वकप कोहलीका लागि ट्वान्टी–२० मा अन्तिम कप्तानी पनि रहने चर्चा चलिरहेको छ। तथापि, उनले पत्रकार सम्मेलनमा भने यस विषयबारे प्रतिक्रिया दिएनन्।
‘यस विश्वकपमा नै ध्यान केन्द्रित गर्ने हाम्रो लक्ष्य छ। टोलीलाई जे आवश्यक छ, त्यसप्रति मात्र ध्यान केन्द्रित गर्न चाहन्छु,’ कोहलीले भनेका छन्। कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच दुबईमा बहुप्रतीक्षित प्रतिस्पर्धा हुँदै छ र यी छिमेकी राष्ट्रबीचको प्रतिस्पर्धालाई सबैले रोमाञ्चकपूर्वक चासो राख्ने गर्छन्। राजनीति टकरावको असर खेलकुद क्षेत्रमा पनि देखिँदा यी दुई राष्ट्रबीच मैत्रीपूर्ण शृङ्खला पनि लामो समयदेखि हुन सकेका छैनन्।