कात्तिक ७, २०७८ आइतबार

एक अज्ञात बन्ददुकधारीले नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट ८०० भन्दा बढी कैदी भगाएका छन्।

अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार राति नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा रहेको सो कारागारमा अज्ञात बन्दुकधारीले हमला गरेका थिए। हमला गरेपछि जेल तोडेर ती बन्दी भागेका यहाँको गृह मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। 

ओयो राज्यको कारागार विभागका प्रवक्ता अ‍ेलानेग्रु अन्जोरिनले सो कुराको पुष्टि गरेका छन्। उनले शनिबार राति अज्ञात बन्दुकधारीहरूले हमला गर्दा ८३७ जना थुनुवा त्यहाँबाट भागेका थिए। उनीहरूमध्ये कतिपय पुर्पक्षका लागि थुनामा थिए भने कतिपय वर्षौँसम्म जेल सजायँ तोकिएका व्यक्ति थिए। जेल तोडेर भागेका उनीहरूको खोजी प्रहरीले थालेको पनि प्रवक्ता अन्जोरिनले बताएका छन्।  

भागेका मध्ये २४२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पुनः पक्राउ गरेको छ। अरू भागेका र उनीहरूको पनि खोजी कार्य जारी रहेको यहाँको कारागार सुरक्षाका विभागका अधिकारीले जानकारी दिएका छन्।