कात्तिक ७, २०७८ आइतबार

टी-ट्वेन्टी विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीच आज भएको बहुप्रतिक्षित क्रिकेट खेलमा पाकिस्तान १० विकेटले विजयी भएको छ ।
भारतले ७ विकेटको क्षतिमा १५२ रनको लक्ष्य दिएकामा पाकिस्तानले विना कुनै विकेटको क्षतिमा उक्त लक्ष्य १७.५ ओभरमा पूरा गरेको छ । 

टी-ट्वेन्टी फर्म्याटमा यी दुई देशले २,०४५ दिन अर्थात् ५ वर्ष ७ महिना ५ दिन पछि खेलेका हुन् । भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा पूरा गर्‍यो । पाकिस्तानको ऐतिहासिक जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारि खेल्दा भारतले भने लज्जास्पद हार बेहोरेेको छ । 

रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का हिर्काउँदै ७८ रन बनाए भने कप्तान आजमले पनि ६८ रन बनाउँदै उनलाई राम्रो साथ दिए । ५२ बलको पारिमा आजमले पनि ६ चौका र २ छक्का हिर्काएका थिए । दुवै ब्याट्सम्यानसामु भारतका सबै बलर निरीह देखिए । खेल सकिन १३ बलअघि नै पाकिस्तानले लक्ष्य सफलतापूर्वक पछ्याउन सफल रह्यो ।

यसअघि भारतले टस हारेर पहिलो ब्याटिङ गर्दै कप्तान विराट कोहलीको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए । ४९ बलको पारिमा उनले ५ चौका र १ छक्का हिर्काए ।

भारतले खेलमा निकै शुरुवात भने निकै खराब गरेको थियो । ६ रनको अवस्थामा नै भारतले दुवै ओपनरलाई गुमाएको थियो । सूर्यकुमार यादव पनि ११ रन बनाएर आउट भएपछि कोहलीले ऋषभ पन्तसँग मिलेर भारतको पारी सम्हाले । पन्तले ३९ रनको योगदान दिए ।  त्यसपछि कोहलीलाई रवीन्द्र जडेजाले १३ रन बनाउँदै साथ दिएका थिए । १९ औँ ओभरमा कोहली क्याच आउट हुन पुगे । पाकिस्तानका लागि शाहिन अफ्रिदीले ३ विकेट लिए भने हसन अलीले २ विकेट लिए ।

भारतले विश्वकपमा (एकदिवसीय र टी-ट्वेन्टी) १२ पटक पाकिस्तानलाई हराएको छ । पाकिस्तानले भने विश्वकपमा पहिलो पटक भारतलाई हराएको हो ।

पछिल्लो पटक भारतले पाकिस्तानलाई २०१६ मा विश्वकपको समूह चरणमा ६ विकेटले हराएको थियो । २०१६ मै भएको एसिया कपमा पनि भारत ५ विकेटले विजयी रह्यो । त्यस्तै २०१४ र २०१२ मा पनि भारतले नै बाजी मार्‍यो ।