रौतहट । कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी सह-सचिव रामकुमार महतोलाई सरुवा गरेको छ । महतोका ठाउँमा गृह मन्त्रालयमा कार्यरत सह-सचिव बाबुराम खतिवडालाई खटाएको छ।
प्रजिअ महतोको आइतबार गृह मन्त्रालयमा काज सरुवा गरिएको हो। सशस्त्र प्रहरीको मनुसमारा बेसकैम्पमा तास खेलेको भिडियो सार्वजनिक भएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी महतोसहित सर्लाहीका सुरक्षा प्रमुखलाई अन्यत्र सरुवा गरिएको छ। आइतबार एकै दिन सर्लाहीका एसपी सन्तोषसिंह राठौरलाई तानेर उनको ठाउँमा कृष्णप्रसाद प्रसाइँलाई खटाएको छ।
त्यसैगरी सशस्त्र प्रहरी १० नम्बर गण सर्लाहीका प्रमुख गङ्गाराम श्रेष्ठको ठाउमा भरत खनियालाई खटाएको छ।