असार ६, २०८३ शनिबार

काठमाडौँ, ६ असारः भारतको ऋषिकेशस्थित जूना अखडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरिले नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्ने सरकारको नीतिको प्रशंसा गर्नुभएको छ । 
  
    हिन्दू स्वयंसेवक सङ्घ नेपालको आयोजनामा भएको ‘प्रबुद्ध नागरिक गोष्ठी’लाई सम्बोधन गर्दै उहाँले नेपालको आध्यात्मिक महिमा र सांस्कृतिक गौरव उच्च रहेकाले नेपाल देवभूमि भएको बताउनुभयो । नेपाल र भारतको सांस्कृतिक तथा आध्यात्मिक चेतना अभिन्न रहेको चर्चा गर्दै नेपाल एक सार्वभौम राष्ट्र भएको तथ्यलाई स्वामी अवधेशानन्दले स्मरण गराउनुभयो । उहाँले माता जानकीलाई ‘नेपालकी छोरी र भारतकी भाग्य विधाता’का रूपमा वर्णन गर्दै दुई देशबीचको अटुट सम्बन्धमा जोड दिनुभयो ।

    “पाश्चात्य संस्कृतिका लागि संसार एउटा ‘बजार’ मात्र हो, तर हाम्रो सनातन संस्कृतिले संसारलाई ‘परिवार’ (वसुधैव कुटुम्बकम्) मान्छ । यहाँ सबैमा एकात्मता र आत्मवत् भाव निहित छ,” स्वामी अवधेशानन्दले भन्नुभयो । नेपालको कुमारी परम्परा मौलिक एवं साक्षात् देवीको स्वरूप रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

    पूर्वप्रधानन्यायधीश गोपाल पराजुलीले नेपालको मौलिकता भुलेर देश रुमल्लिरहेको बताउनुभयो । न्याय र विवेक पलायन भएपछि समाज समाजका रूपमा नरहेको बताउनुभयो । सङ्घका मानिसले यो अवस्थामा जागरण फैल्याउन लाग्नुपर्ने उहाँले बताउनुभयो ।   

    कार्यक्रममा हिन्दू स्वयंसेवक सङ्घ नेपालका राष्ट्रिय सङ्घचालक कल्याणकुमार तिम्सिनाले स्वागत मन्तव्य राख्दै गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । 

    त्यसैगरी, सङ्घका प्रचारक कपिल भट्टले हिन्दू स्वयंसेवक सङ्घको स्थापना, यसका आधारभूत सिद्धान्त र देशभर सञ्चालित सामाजिक तथा सांस्कृतिक सेवाका विविध आयामबारे जानकारी गराउनुभएको थियो ।

    कार्यक्रमको आरम्भ नेपालको विविधता र मौलिकता झल्काउने सांस्कृतिक प्रस्तुतिहरूसँग भएको थियो । कार्यक्रममा छलिया नृत्य, सखिया नृत्य, मञ्जुश्री नृत्य, बाँसुरी वादन तथा शिवसतीको कथानकमा आधारित नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध पारेको थियो । मञ्चमा पूर्व कुमारी (माजु) तृष्णा शाक्यको विशेष उपस्थिति रहेको थियो ।