कर्णाली, ८ असारः कर्णाली प्रदेश रङ्गशाला सुर्खेत, वीरेन्द्रनगरमा आज सम्पन्न ‘४६औँ नेसनल एथ्लेटिक्स च्याम्पियनसिप २०८३’ मा नेपाल आर्मी क्लब प्रथम भएको छ । च्याम्पियनसिपमा आर्मी क्लबले १७ स्वर्ण, १२ रजत र सात कास्यसहित कुल ३६ पदक प्राप्त गरी प्रथम भएको हो ।
प्रतियोगितामा नेपाल पुलिस क्लब आठ स्वर्ण, सात रजत र तीन कास्यसहित कुल १८ पदक जित्दै दोस्रो भयो । त्यस्तै, बागमती प्रदेश दुई स्वर्ण, एक रजत र एक कास्यसहित कुल चार पदक जितेर तृतीय भयो । च्याम्पियिनसिपमा प्रथम हुने खेलाडीलाई रु १५ हजार, दोस्रो हुनेलाई रु १० हजार र तृतीय हुनेलाई रु पाँच हजार पुरस्करसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिलातर्फ १४–१४ विधामा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लबका गरी १२० महिला र १२० पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एक सय, दुई सय, चार सय, आठ सय, एक हजार ५००, पाँच हजार र १० हजार मिटर दौड, लङजम्प, ट्रिपलजम्प, सटफुट, जेभलिन थ्रो, एक सय र चार सय मिटर रिले दौड समावेश गरिएको उक्त च्याम्पियनसिप नेपाल एथ्लेटिक्स सङ्घको आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग एवं समन्वयमा सञ्चालन भएको थियो ।