कात्तिक ९, २०७८ मंगलबार

विकिपिडिया

कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले चितुवा भगाउनका लागि दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको छ ।

साँझ नहुँदै बस्तीमा छिरेर चितुवाले घरपालुवा जनावर मार्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । उनीहरूले  साँझ परेपछि गाउँघरमा हिँडडुलसमेत बन्द गरेका छन् ।

चितुवाले लगातार स्थानीयका बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै लगेर खान थालेको जनगुनासोपछि चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनमगरले बताए । 

दुई साताको अवधिमै चितुवाले स्थानीय बासिन्दाका आधा दर्जनबढी चौपाया मारेर खाएको बताइएको छ ।