कात्तिक ९, २०७८ मंगलबार

सिमकोट, कात्तिक ९ गते । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्‍याइएका एक जना बिरामीले उपचारका लागिका जिल्लाबाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ ।

जिल्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो । उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत लैजानका लागि सोमबार तारा एयरमा टिकट काटेको भए पनि उडान नभएर बिरामी शाहीले सिमकोटमै रोकिनुपरेको हो । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरिएका बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काइएको छ ।

बिरामी वीरजितले मात्र टिकट पाएको भए पनि बिरामीसँगै जाने कुरुवाले टिकट नपाएपछि उनीहरू हुम्ला विमानस्थलबाट फर्किन बाध्य भएका हुन् । “बिरामी बुवालाई कसको साथ लगाएर अस्पताल पठाउने, त्यसैले हामी फर्कियौँ दीर्घले गुनासो गरे ।

यस्तै विद्यार्थी, बिरामी, काम विशेषले जिल्लाबाहिर जाने यात्रुले हप्तौँ दिनदेखि निजी हवाई सेवा कम्पनीका कार्यालय धाउँदा पनि टिकट नपाएको गुनासो गरेका छन् । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी एयर सीता, तारा र समिटले नियमित उडान नभर्दा जिल्ला बाहिरिने हुम्लीले सास्ती खेप्नुपरेको छ । अन्य समय बिहानदेखि बेलुकासम्म दैनिक १० भन्दा उडान भर्ने निजी एयरले यो समय एकमात्रै उडान गर्दा बिरामीदेखि अन्य सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

सीता, समिट, ताराले दैनिक एक उडान भरे पनि विद्यार्थी, बिरामीलाई प्राथमिकता नदिएर फोनका आधारमा टिकट वितरण गरेको जनगुनासो आउने गरेको छ । आफन्त र चिनजानका आधारमा दसैँ, तिहारको समय टिकट वितरण हुँदा अन्य सर्वधारण मर्कामा परेका छन् ।रासस