असार ९, २०८३ मंगलबार

झापा, ९ असारः यहाँस्थित गोलोक गोवर्धन गौशालाले तेह्रथुमको फेदाप गाउँपालिकालाई त्यहाँ खेती गर्न ९२ हल बहरगोरु सहयोग गरेको छ । गाईबस्तु पाल्ने चलन यहाँ कम हुँदै गएकाले गोरुको अभाव हुँदै गएको छ ।   

गौशाला सञ्चालक समितिका संस्थापक अध्यक्ष नन्दकिशोर भारद्वाजले भेटनरी चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा अन्य  प्रक्रिया पूरा गरी बहरगोरु तेह्रथुम पठाइएको जानकारी दिनुभयो ।  

फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले गोरु अभावका कारण खेती गर्न कठिनाइ व्यहोरिरहेका विपन्न किसान परिवारलाई उच्च प्राथमिकता दिएर बहरगोरु निःशुल्क रुपमा वितरण गरिएको बताउनुभयो ।   भिरालो भूवनोटका कारण पहाडमा खेतजोत्न ठूला यान्त्रिक उपकरण प्रयोग गर्न कठिनाइ हुने भएकाले गोरुकै प्रयोग गर्नु  बाध्यता छ ।
  
गौशालाका व्यवस्थापकीय प्रमुख विनोद न्यौपानेले   विभिन्न जिल्लाका विपन्न किसानलाई सात हजारभन्दा बढी गाई र गोरु निःशुल्क वितरण गरिसकेको जानकारी दिनुभयो । हुर्किएका बहरगोरुलाई संस्थाले बिक्री नगर्ने र विपन्न परिवारलाई निःशुल्क वितरण गर्ने नीति लिएको छ ।  
    
एघार वर्षअघि स्थापना भएको उक्त गौशालामा हाल दुई हजार ७९९ वटा गाईको संरक्षण भइरहेको छ । छाडा छाडिएका गाईहरु गौशालाले उद्धार गरेर पाल्ने गरेको छ ।