दमौली (तनहुँ), ११ असार : सुरक्षित आप्रवासन परियोजना (सामी)मार्फत तनहुँका सर्वसाधारणले रु ३२ करोडभन्दा बढी राहत तथा क्षतिपूर्ति प्राप्त गरेका छन् । वैदेशिक रोजगारीका क्रममा ठगी तथा मृत्यु भएकाका परिवारले परियोजनामार्फत् रु ३२ करोड १४ लाख ५८ हजार ५१८ आर्थिक सहायता र क्षतिपूर्ति प्राप्त गरेका हुन् ।
परियोजना संयोजक लुना रानाले ठगी, मृत्यु, घाइते लगायतको मुद्दामा सहजीकरण गरी उक्त राहत तथा क्षतिपूर्ति दिलाउन सफल भइएको जानकारी दिनुभयो । उहाँका अनुसार ठगीमा परेकालाई आर्थिक सहायताबापत रु पाँच करोड ४६ लाख ६१ हजार प्रदान गरिएको छ ।
करार उल्लङ्घनमा रु ११ लाख, मृत्यु भएकाका परिवारलाई रु २० करोड ३० करोड ४४ लाख क्षतिपूर्ति प्रदान गरिएको छ । त्यसमध्ये महिला चार जना र पुरुष १२४ का परिवारलाई क्षतिपूर्ति प्रदान गरिएको उहाँले बताउनुभयो ।
दुर्घटनामा परेका ३९ महिला र ११० पुरुषलाई रु छ करोड १२ लाख ९८ हजार क्षतिपूर्ति प्रदान गरिएको रानाले बताउनुभयो । जेलमा परेकाको पनि उजुरी परे पनि परियोजनामार्फत उनीहरुको उद्धार भने गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार परियोजनामार्फत २९ जनालाई उद्धार गरी नेपाल फर्काइएको छ ।
तनहुँमा विसं २०७६ देखि यो परियोजना सञ्चालित छ । परियोजनामार्फत वैदेशिक रोजगारीबाट फर्किएका ५८३ महिला र ८३ पुरुषलाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।
चालु आर्थिक वर्षमा व्यास नगरपालिकाका एक हजार ५५३, शुक्लागण्डकी नगरपालिकाका एक हजार ३२०, भानु नगरपालिकाका एक हजार १४४, भिमाद नगरपालिकाका ८३४, म्याग्दे गाउँपालिकाका ६८४ र देवघाट गाउँपालिकाका ३०८ जनाले परामर्श सेवा प्राप्त गरेको परियोजनाले जनाएको छ ।