कात्तिक ९, २०७८ मंगलबार

टी-ट्वान्टी विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जीत हात पारेको छ ।

सुपर-१२ चरणअन्तर्गत समूह ‘२’ को खेलमा मङ्गलबार न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

उसले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो।
न्यूजिल्यान्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले ५ विकेट गुमाएर १८.४ ओभरमा पूरा गर्‍यो। पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३५ रन बनाए। ३४ बल खेलेका उनले ५ चौका प्रहार गरे। त्यस्तै फखर जमान, मोहम्मद हफिज, इमाद बसिमले समान ११-११ रन बनाए।

कप्तान बाबर अजाम ९ रनमा आउट भए। शोएब मलिक‍ र आसिफ अलिले नटआउट समान २७-२७ रन बनाए।

न्यूजिल्यान्डका लागि ईश शोढीले २ तथा ट्रन्ट बोल्ड, टिम साउथी र मिसेल सान्टेनरले समान १-१ विकेट लिए।

यसअघि शारजाह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो।

न्यूजिल्यान्डका लागि डेरेल मिचेल र डेभोन कनवेले सर्वाधिक २७-२७ रन, कप्तान केन विलियमसनले २५ रन, मार्टिन गप्टिलले १७ रन, ग्लेन फिलिप्सले १३ रन बनाए।

गप्टिल र मिचेलले ३६ रनको ओपनिङ साझेदारी गरेका थिए। छैठौं ओभरमा गप्टिल आउट भएपछि विलियमसनले मिचेलसँग १८ रनको तथा चौथो विकेटका लागि कनवेसँग ४४ रनको साझेदारी गरे।

चौधौं ओभरमा विलियमसन हसन अलिबाट रनआउट भए। कनवेले फिलिप्ससँग २६ रनको साझेदारी गरे। अठारौं ओभरमा कनवे र फिलिप्स दुवैलाई हरिस रौफले क्याच आउट गरे। इनिंग्सको अन्तिम ५ ओभरमा न्यूजिल्यान्डले ४ विकेट गुमाएर ३४ रन मात्र बनाउन सक्यो।

पाकिस्तानका लागि हरिस रौफले करिअरकै उत्कृष्ट स्पेल दर्ता गर्ने क्रममा ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। त्यस्तै शाहिन अफ्रिदी, इमाद वासिम र मोहम्मद हफिजले समान एक-एक विकेट लिए।

न्यूजिल्यान्डको सुपर-१२ चरणमा पहिलो खेल हो भने पाकिस्तानको यो दोस्रो खेल हो। पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो।

आजै भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले वेष्ट इण्डिजलाई ८ विकेटले हरायो । वेष्ट इण्डिजले दिएको १ सय ४४ रनको लक्ष्य १८.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।