असार १३, २०८३ शनिबार

मान्म (कालीकोट), १३ असारः कालीकोट र दैलेख जिल्ला जोड्ने सडक स्तरोन्नति गर्न दुई जिल्लाका जनप्रतिनीधिले सहमति गरेका छन् । दुई जिल्लाको सहज यातायात सञ्जालमा जोड्ने आर्थिक तथा सामाजिक विकासका लागि दैलेखको माथिल्लो डुङ्गेश्वर–दुल्लु–डाँडीमाडी हुँदै कालीकोटको ब्याउली–पान्तडी सडकको स्तरोन्नतिका लागि दुई जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, प्रतिनीधिसभाका सांसद र सरोकारवालाले सहमति गरेका हुन् ।

    कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रबार माथिल्लो डुङ्गेश्वरमा सम्पन्न बैठकले सडक पूर्वाधार विकासका लागि दुई जिल्लाबीच सहकार्य गर्ने सहमति गरेका छन् । 

    कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त बैठक दैलेखको माथिल्लो डुङ्गेश्वर शुक्रबार सम्पन्न भएको र सडक पूर्वाधार विकासका लागि दुवै गाउँपालिकाबीच सहमति भएको कालीकोट शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताउनुभयो । ‘बैठकले दुई जिल्ला र पालिका जोड्ने रणनीतिक सडकलाई छिटोभन्दा छिटो स्तरोन्नति गर्ने सहमति भएको छ,’ उहाँले भन्नुभयो, “प्रादेशिक सडकको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय गरेका छौँ ।”

    सडकले पूर्णता पाएमा कालीकोटको शुभकालिका र आसपासका क्षेत्रबाट दैलेख हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत र नेपालगन्जसम्मको यात्रा निकै छोटो, सुरक्षित र सहज हुने सांसद लक्ष्मीप्रसाद पोखरेल जानकारी दिनुभयो । “प्राविधिक जटिलता र बजेट व्यवस्थापनका लागि सडक डिभिजन र प्रदेश सरकारसँग संयुक्त रूपमा पहल गर्ने निर्णय भएको छ,”उहाँले भन्नुभयो, “यो मार्ग बनेमा कालीकोट र दैलेखबासीका लागि कर्णालीको प्रमुख पर्यटकीय गतब्य रारा ताल र सुर्खेत–नेपागञ्जको यात्रा सहज हुनेछ ।”

    दुई पालिका र जिल्लाबीचको आपसी सम्बन्ध, भ्रातृत्व र पर्यटन प्रवद्र्धनलाई थप मजबुत बनाउन कालीकोट र दैलेखको सीमा क्षेत्रमा पर्ने ऐतिहासिकस्थल भोटेगढीमा आधुनिक स्वागतद्वार (गेट) निर्माण गर्ने भैरवी गाउँपालिकाका अध्यक्ष रिताकुमारी शाहीले जानकारी दिनुभयो ।

    “गेट निर्माणका लागि शुभकालिका गाउँपालिका र भैरवी गाउँपालिकाले संयुक्त रूपमा साझेदारी र लगानी गर्ने गर्ने छन्,” उहाँले भन्नुभयो, “दुई जिल्लाको आपसीहितका लागि आगामी दिनमा निरन्तर सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छौँ ।”