कात्तिक १०, २०७८ बुधबार

नेपाली काँग्रेसको शीर्ष तहमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका सन्दर्भमा मंगलबार अपराह्न काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सामान्य छलफल भएको छ ।

काँग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानन्यायाधीशबारे पार्टीको धारणा के हो भनेर प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई सोधेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री देउवा प्रधानन्यायाधीशकै पक्षमा देखिएका छन् ।

देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भनेअनुसार प्रधानन्यायाधीशले राजीनामा दिन्नँ भनेकाले काँग्रेस प्रधानन्यायाधीशमाथि महाभियोगको पक्षमा छैन ।

यस्तै वरिष्ठ काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानन्यायाधीशबारे सभापति देउवाकै लाइनमा देखिएका छन् । न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने पौडेलको भनाइ छ । न्यायालयमा असहज परिस्थिति बनेको भन्दै न्यायालयको आन्तरिक मामिलामा काँग्रेस प्रवेश नगर्ने पौडेलले बताए ।

यता काँग्रेसमा शीर्ष नेताहरू उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, शेखर कोइराला भने राजीनामा नदिए प्रधानन्यायाधीश जबरालाई पदच्युत गर्नुपर्ने पक्षमा छन् ।