पर्वत, १४ असारः बिहादी गाउँपालिका-१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आउनुभएको छ । रोजगारीका लागि १२ वर्षसम्म साउदी-कोरिया बसेर फर्किनुभएका उहाँले गाउँमा रु ६० लाख लगानी गरी कृषि कर्ममा जोडिनुभएको हो ।
आधुनिक कृषि प्रविधि अपनाउँदै क्षेत्रीले तरकारी, फलफूल तथा पशुपालन व्यवसाय सञ्चालन गर्नुभएको छ । सुन्दर भविष्य निर्माण गर्ने आश बोकेर दैनिक हजारौँ युवा विदेश पलायन भइरहेको अवस्थामा उहाँ स्वदेशमा स्वरोजगार बन्ने बाटोमा लाग्नुभएको छ ।
सुरुमा सानो लगानीबाट थालेको व्यवसाय अहिले रु ६० लाखभन्दा बढीको लगानीमा विस्तार भइसकेको क्षेत्रीले जानकारी दिनुभयो । करिब ९० रोपनी क्षेत्रफलमा एसके कृषि फार्म दर्ता गरी व्यावसायिक तरकारी खेती, फलफूल बगैँचा तथा गाइभैँसीपालन गर्दै आउनुभएको छ ।
फार्ममा आधुनिक सिँचाइ प्रणाली, टनेल खेती र कृषि उपकरणको प्रयोग गरिएको छ । उहाँले मौसमी तथा बेमौसमी तरकारी, आलु, काँक्रा, अदुवा, कागती, टमाटर खेती गर्नुभएको छ ।
“सुरुमा धेरैले कृषि गरेर केही हुँदैन विदेन नै गएको राम्रो भनेका थिए”, क्षेत्रीले भन्नुभयो, “तर मेहनत र सही योजना छनोट गर्न सकेमा यसैबाट प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ ।” उहाँले कृषि पेसाबाट सम्मानजनक जीवनयापन र प्रशस्त आम्दानी गर्न सकिने धारणा राख्नुभयो ।
किसान क्षेत्रीले आफ्नो फार्मबाट वार्षिक लाखौँको तरकारी तथा भक्तपुरे जातको स्थानीय काँक्राको बीउ बिक्री हुने गरेको जानकारी दिनुभयो । हरेक वर्ष लगानी थप गर्दै आएकाले आम्दानी यकिन नभएको उहाँको भनाइ छ । उहाँले वार्षिक रूपमा करिब रु ५० लाखसम्मको कारोबार हुन गरेको बताउनुभयो ।
किसान क्षेत्रीले आगामी वर्षदेखि आम्दानी बढ्दै जाने उल्लेख गर्दै कोरियाबाट फर्केर विहादीलाई कृषि उत्पादनको क्षेत्रमा ‘ब्रान्ड’ बनाउने योजना रहेको बताउनुभयो । उहाँका अनुसार प्रत्यक्ष रूपमा पाँच जनाले रोजगारी पाएका छन् भने स्थानीय किसान पनि आधुनिक खेतीप्रति आकर्षित भएका छन् ।
किसान क्षेत्री अध्यक्ष रहेको बाच्छाको सिर्जनशील कृषक समूहले यस वर्ष एक हजार ४०० किलो काँक्राको बीउ उत्पादन गरेको छ । कृषक समूहमा ३२ जना सदस्य आबद्ध छन् ।
समूहका अध्यक्ष क्षेत्रीका अनुसार गत वर्ष उत्पादित बीउ जिल्लाभर प्रतिकिलो रु छ हजारका दरले बिक्री भएको जानकारी दिनुभयो । गत वर्षको दररेटअनुसार मूल्य आउँदा मात्रै पनि कृषक समूहबाट मात्रै उत्पादित काँक्राको बीउको मूल्य रु ८० लाखभन्दा बढी रकम हुने उहाँले बताउनुभयो ।
क्षेत्रीले ४५ रोपनी जग्गामा बीउ उत्पादनका लागि काँक्रा खेती गरेकामा ९० किलो बीउ उत्पादन हुने गरेको जानकारी दिनुभयो । आफ्नो पेसामा सन्तुष्ट रहनुभएका उहाँले ग्रामीण क्षेत्रका किसानलाई बैङ्कहरूले ऋण नदिने गरेका भन्दै गुनासो गर्नुभयो ।
“सरकारले किसानलाई सहुलियत ब्याजदरमा कृषि ऋण दिनुपर्छ । कृषि विकास बैङ्कले ऋण दिन्छु भनेर अन्तिममा फार्म रहेको जग्गामा पक्की बाटो नपुगेको रहेछ । बाटो नपुगपछि धितो उपयुक्त नभएको भनी अन्तिममा ऋण दिएन । यसले व्यवसाय विस्तारमा समस्या भयो । यस्तो समस्या हुन नदिन स्थानीय निकायले विशेष पहल गर्नुपर्छ”, किसान क्षेत्रीले भन्नुभयो । आगामी दिनमा लोकल कुखुरा र हाँसपालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
“कृषिमा अझै धेरै सम्भावना छन्”, क्षेत्रीले भन्नुभयो, “युवाले विदेशमा भन्दा गाउँमै अवसर खोज्नुपर्छ ।” पर्याप्त मात्रामा उत्पादन गर्ने हो भने बजार र मूल्यको अभाव नहुने उहाँको अनुभव छ ।
विहादी गाउँपालिकाका कृषि शाखाका प्राविधिक जीवन शाहीले कृषक क्षेत्रीको सफलताले गाउँका अन्य युवालाई कृषि पेसातर्फ आकर्षित गरेको बताउनुभयो । गाउँको उर्वर भूमि र आधुनिक सोचको संयोजनले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख गोपाल लामिछानेले लोकमार्ग केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्षेत्रीलाई यस वर्ष रु एक लाख ५५ हजार अनुदान प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले युवा व्यावसायिक कृषि क्षेत्रमा आकर्षित हुन थालेका बताउँदै राज्यले पनि उनीहरूलाई प्रोत्साहन गर्ने नीति लिएको उल्लेख गर्नुभयो । आधुनिक प्रविधिको प्रयोग, बजार पहुँच र सरकारी सहुलियतले कृषि व्यवसायलाई थप सम्भावना बोकेको क्षेत्र बनाएको उहाँको भनाइ छ ।
---