काठमाडौँ, १४ असार ः जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका सन्दर्भमा राष्ट्रिय जनसाहित्यिक सङ्घको ‘अविरल जनसाहित्य यात्रा–११०’ मा कवि होमशङ्कर बास्तोलाका एक दर्जन कविता प्रस्तुत भएका छन् ।
कवि बास्तोलाले ‘त्रिशूलीमा गिटी कुट्नेहरू’, ‘घाम’, ‘सालिक’ ‘नदेख अपूरा सपना’, ‘ओडारे माइलाका भोका सपनाहरू’ शीर्षकका गद्यकविता र एउटा गजल गरी छओटा अत्यन्त सुन्दर, सशक्त र रूपान्तरणका पक्षका कविता वाचन गर्नुभयो ।
उहाँका अन्य कविताहरु सहयोगी कविहरुले वाचन गर्नुभयो । कवि डा.नवराज रिजालले ‘विश्वास भत्केको वेलामा’ शीर्षकको, कवि गणेशकुमार मिश्रले ‘कैशाङ र तीनपाने’ शर्षिकको, कवि त्रिलोचन आचार्यले ‘के दोष थियो सिंहदरवारको !’ शीर्षकको, कवि विकल त्यागीले ‘गजल’, कवि बोधराज पौडेलले ‘तमसुक’ शीर्षकको र रोजु गौतमले ‘गजल’ त्यत्तिकै सुन्दर, सशक्त कविताहरू र गजल वाचन गर्नुभएको थियो ।
वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक आरएम डङ्गोलले बास्तोला कवितामा गाउँ र सहरको तुलना गरिएको छ । हार्दिकतामा गाउँ अगाडि रहेको निष्कर्ष निकालिएको छ बताउनुभयो ।
बास्तोलाका ‘आँसुका झरनाहरू’ कथासङ्ग्रह २०५८, ‘घाम हराएको दिन’ गजलसङ्ग्रह २०६१, ‘बन्दुकको छायाँ’ कथासङ्ग्रह २०६७, ‘हिमाल–पहाडका कथा’ सङ्कलित कथासङ्ग्रह २०७१, ‘भोका सपनाहरू’ कवितासङ्ग्रह २०७८ र ‘रगतको मूल्य’ कथासङ्ग्रह २०८२ जस्ता कृति प्रकाशित छन् ।
कार्यक्रममा कवि खेमराज निरौलाले मदन भण्डारीप्रति समर्पित कविता वाचन गर्नुभएको थियो भने नमूना शर्माले मदन भण्डारीद्वारा लिखित गीत गाउनुभएको थियो ।
यसैगरी, प्रा डा हेमनाथ पौडेलले मदन भण्डारीप्रति समर्पित कविता वाचन गर्नुभएको थियो भने प्रा डा बद्रीविशाल पोखरेलले मदन भण्डारीको व्यक्तित्व र योगदानको चर्चा गर्नुभएको थियो ।