सुदूरपश्चिम, १४ असारः सुदूरपश्चिमको समग्र स्वास्थ्य सेवा सुधारका लागि सरकारी स्वास्थ्य सेवाप्रदायक संस्था, निजी क्षेत्र र नियमनकारी निकायको सामूहिक पहल जरुरी रहेकामा जोड दिइएको छ । अग्रलेख मल्टिमिडियाको आयोजनामा आज यहाँ धनगढीमा आयोजित ‘स्वास्थ्य सेवामा जनअपेक्षाः सुदूरपश्चिमको यथार्थ र सुधारको बाटो’ विषयक कार्यक्रमा वक्ताहरूले सबै क्षेत्रको पहलले मात्रै स्वास्थ्य क्षेत्रमा सुधार सम्भव हुने धारणा राख्नुभयो ।
मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालयका प्रमुख प्रकाशदत्त भट्टले सरकारले मात्रै सबै सेवा प्रवाह गर्न नसक्ने भएकाले सरकारको नीति तथा योजनाअनुसार सबैले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संविधानप्रदत्त स्वास्थ्य अधिकारको कार्यान्वयन गर्न सरकारी तथा निजी स्वास्थ्य संस्थाको भूमिका थप प्रभावकारी हुन जरुरी रहेको धारणा राख्नुभयो ।
नागरिक समाजका अगुवा एवं अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश संयोजक खड्कराज जोशीले नागरिकले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अवस्था बनाउन सबैले इमान्दारितापूर्वक आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी अस्पतालमा दरबन्दीअनुसार जनशक्ति, आवश्यक उपकरण र प्रभावकारी व्यवस्थापन तथा निजी स्वास्थ्य संस्थाले सामाजिक उत्तरदायित्वको भावनाअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख डा निरज अर्यालले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्नुभयो । उहाँले जिल्ला अस्पतालबाट गुणस्तरीय विशेषज्ञ सेवा दिन जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरण र पूर्वाधार विकासका लागि उल्लेख्य प्रगति भएको जानकारी दिनुभयो ।
“विगतमा अधिकांश जिल्ला अस्पतालबाट मेडिकल अधिकृतले मात्रै सेवा दिने गरिएको थियो, हाल जनशक्ति व्यवस्थापन गरिएकाले अधिकांश जिल्ला अस्पतालमै विशेषज्ञ सेवा उपलब्ध हुन थालेको छ । स्रोतसाधनले भ्याससम्म सरकारले काम गरिरहेको छ । निजी क्षेत्रले पनि सेवा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्”, डा अर्यालले भन्नुभयो ।
प्रदेश सरकार मातहतका अस्पताललाई क्रमशः स्तरोन्नति गर्दै दक्ष जनशक्ति थप्ने नीति रहेको उहाँले बताउनुभयो । स्वास्थ्य सेवामा सुधार भए पनि दुर्गम क्षेत्रमा नागरिकको पहुँच अस्पतालसम्म कमजोर रहेकाले तथ्याङ्कमा अपेक्षित सुधार देखिन नसकेको उहाँको भनाइ थियो । “विगतको तुलनामा स्वास्थ्य सेवामा धेरै सुधार भएको छ”, उहाँले भन्नुभयो ।
एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) सुदूरपश्चिमका अध्यक्ष तीर्थराज पन्तले निजी क्षेत्रले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भूमिका खेलिरहेको बताउनुभयो । उहाँले प्रदेशमै विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्न आफूहरुले निरन्तर प्रयास गरिरहेको भन्दै त्यसले नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धिमा योगदान गरिरहेको उल्लेख गर्नुभयो ।
आयोजक संस्थाका अध्यक्ष अर्जुन शाहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारबम विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै आफ्नै लगानीमा दक्ष जनशक्ति उत्पादनलगायत काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि सबै क्षेत्रलाई साथमा लिएर काम गर्न सरकारलाई आग्रह गर्दै सम्बद्ध सरोकार भएकाहरुले सामाजिक उत्तरदायित्वको भावनाअनुसार सेवा प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिहरूले प्रदेशमा स्वास्थ्य सेवाको अवस्था, पहुँच, गुणस्तर, जनशक्ति व्यवस्थापन र सुधारका योजना तथा सेवा प्रवाहमा देखिएका चुनौती सम्बोधनका लागि मुख्यमन्त्री कमलबहादुर शाहको ध्यानाकर्षण गराउनुभएको थियो ।
जवाफमा मुख्यमन्त्री शाहले स्वास्थ्य क्षेत्रको विकास र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले जिल्ला तथा अन्य अस्पताल प्रदेश सरकारको मातहतमा आएपछि स्रोतसाधनले भ्याससम्म सुधारका काम गरिएको बताउनुभयो ।
“पहिले र हालको स्वास्थ्य अवस्था तथा स्वास्थ्य संस्थामा सुधारबारे यहाँहरुले पनि महसुस गर्नुभएको होला । हामीले स्रोतसाधनको सीमितताकाबीच पनि सुधारका उल्लेख्य काम गरिरहेका छौँ”, मुख्यमन्त्री शाहले भन्नुभयो, “यस क्षेत्रमा निजी क्षेत्रको उपस्थिति पनि सराहनीय छ । नियमन र प्रोत्साहनका काम पनि सँगसँगै अगाडि बढाइरहेका छौँ । सेवामूलक भावनाका साथ काम गर्न निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार छ ।”