असार १५, २०८३ सोमबार

पर्वत, १५ असारः महाशिला गाउँपालिकाले सागसब्जी र खसीबोका बिक्री गरी पछिल्लो २० महिनामा रु आठ करोड आम्दानी गरेको छ । पालिका पर्वत जिल्लाकै सबैभन्दा विकट र सानो  हो ।
  
यहाँस्थित छ वटै वडाका आठ सय ८३ कृषकले उत्पादन गरेका सागसब्जी, खसीबोका, स्थानीय जातका कुखुरा र दूध बिक्री गरी उक्त आम्दानी भएको पालिकाका अध्यक्ष इशवरी भुसालले बताउनुभयो । उत्पादित कृषिजन्य बस्तु सदरमुकाम कुश्मा, छिमेकी जिल्ला स्याङ्जा र पोखरामा बिक्री गरिन्छ ।  

महाशिलामा उत्पादित सागसब्जी र खसीबोका किन्न पोखराको बिरौटामा रहेका तरकारी पसलमा बिहानैदेखि उपभोक्ता कुरेर बसेका हुन्छन् । गाउँमा उत्पादित स्थानीय जात  स्वस्थ्यकर हुने भन्दै ग्राहकको पहिलो रोजाइँ महाशिलाकै उत्पादन बन्ने गरेको पूर्व अध्यक्ष जीवन विक्रम उच्चैले जानकारी दिनुभयो । 

पालिकाले सागसब्जीमा प्रतिकिलो रु पाँच मासुजन्य वस्तुमा रु २५ तथा दूधमा प्रतिलिटर रु दश अनुदान दिँदै आएको छ । कृषकको उत्पादनको यकिन मापन गर्ने कार्यका लागि गाउँपालिकाभित्रका मुख्य टोलमा ३३ वटा तराजु वितरण गरिएको छ ।

कृषकको गोठको भकारो सुधार र बाख्राको खोरसुधार कार्यमा ५० प्रतिशत अनुदानको कार्यक्रम सञ्चालन गरिएपछि ब्यावसायिक कृषिमा लाग्ने कृषकको आकर्षण बढेको छ । तरकारीखेतीमा लागेका यहाँका हरेक कृषकले न्यूनतम रु दुई लाखदेखि रु दश लाखसम्म आम्दानी गरेका छन् । 

  उत्पादन  सङ्कलनका लागि दुई जना बजार प्रतिनिधि पालिकाले नियुक्त गरेको छ । उहाँले कृषकको घर घर पुगी उत्पादन सङ्कलन गर्ने गर्नेगरेका छन् । पालिकाले  पूर्णरुपमा कृषिमा आश्रित परिवार र व्यवसायले लिने कृषि ऋणमा लाग्ने ब्याजमा निश्चित अनुदान प्रदान गर्ने कार्यक्रम समेत सञ्चालन गरेको छ । 
–––