गरिब परिवारलाई प्रति परिवार १० हजार रूपैयाँका दरले पाँच अर्ब रूपैयाँ नगद वितरण गर्न सरकारले कार्यविधि पारित गरेको छ। मन्त्रिपरिषद्बाट कार्यविधि पारित भई राजपत्रमा सूचना प्रकाशन गर्न कानुन मन्त्रालयमा पठाइएको र कानुनले एक/दुई दिनमै कार्यविधि राजपत्रमा पठाउने बताइएको छ । राजपत्रमा प्रकाशित भएपछि नगद हस्तान्तरणको प्रक्रिया अघि बढाइने स्रोतको भनाइ छ।
सरकारले प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोभिड–१९को प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवम् असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब पाँच लाख परिवारलाई प्रतिघर परिवार १० हजारको दरले निश्चित मापदण्ड बनाइ अनुदान प्रदान गर्ने घोषणा गरिएको छ। साथै यस्तो अनुदान रकम स्थानीय तहको समन्वयमा २०७८ असोज महिनाभित्र हस्तान्तरण गरिने जनाइएको थियो ।