असार १६, २०८३ मंगलबार

कोलालम्पुर, १६ असार  : फिफा विश्व कप सन् २०२६ सँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी सुरु गरीएको राष्ट्रव्यापी अपरेसनमा ३३१ जनालाई पक्राउ गरिएको मलेसियन अधिकारीहरूले  घोषणा गरेका छन् ।

 उनीहरुको बीचबाट लगभग ३५ हजार अमेरिकी डलर नगद जफत गरिएको तथा  छ लाख ४० हजार अमेरिकी डलर भन्दा बढीको सट्टेबाजी लेनदेनको पर्दाफास भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले  विज्ञप्ति मार्फत जनाउनु भएको छ । 

 मलेसियन कम्युनिकेसन एण्ड मल्टिमेडिया कमिसन (एमसीएमसी) को सहकार्यमा गत जुन –११ मा सुरु भइ जुलाई –१९ सम्म जारी रहने अपरेसनले देशव्यापी रुपमा २९३ वटा छापा मारी  वेबसाइट र सामाजिक सञ्जाल मार्फत जुवा सम्बन्धी विज्ञापन र प्रचार गतिविधिहरूको निगरानी गरिएको उहाँले बताउनुभएको छ । 

उहाँका अनुसार अधिकारीहरूले १८५ वटा वेबसाइटहरू, विभिन्न अनलाइन प्लेटफर्महरू, र सामाजिक सञ्जालका  खाताहरू फुटबल सट्टेबाजी र जुवा प्रचारका लागि प्रयोग भइरहेको पहिचान गरेको उल्लेख गरेका  छन् ।