बाजुरा । बाजुरा, मुगु र हुम्लाका बासिन्दाले सेवा लिँदै आएका सेवाग्राहीले एक सातादेखि जहाजको टिकट नपाउँदा अलपत्र परेको गुनासो गरेका छन्। कोल्टीबाट उडान हुने नेपालगञ्ज र धनगढीको टिकट नपाउदा सयौँ यात्रु कोल्टी विमानस्थलमा अलपत्र परेको स्थानीय पत्रकार धनबहादुर बोहराले बताए।
कर्णाली राजमार्ग र मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि कोल्टीमा ६०० भन्दा बढी यात्रु एक सातादेखि टिकटको पर्खाइमा रहेको हुम्लाका खुमबहादुर रावतले बताए। समिट र तारा एयरलाइन्सले दैनिक एउटा/एउटा उडान गर्ने भए पनि यात्रुकोे चाप निकै बढेको छ। यात्रुको भीड व्यवस्थापन गर्न विमानस्थललाई निकै समस्या परेको छ। एक सातायता हवाई सेवा नियमितसमेत पनि हुन नसकेको कोल्टी विमानस्थलले जनाएको छ।