कञ्चनपुर, १७ असारः यहाँका महिलामाथि कार्यबोझ दिनप्रतिदिन बढ्दै गएको छ । अत्यधिक गर्मी, अनियमित वर्षा र खेतीपातीको समय परिवर्तनसँगै दैनिक जीवन कठिन बन्दै गएको छ । विशेषगरी विपन्न, दलित र जनजाति समुदायका महिला यसको सबैभन्दा बढी मारमा परेका छन् ।
शुक्लाफाँटा, कृष्णपुर, बेदकोट र भीमदत्तनगर चुरे छेउ गाउँका महिलाको कार्यबोझ अधिक रूपमा थपिएको छ । तर चुरे क्षेत्र बाहिरका महिलाहरूको कार्यबोझ कम छैन । स्थानीय बासिन्दा तारादेवी कामी भन्नुहुन्छ, “पहिलेजस्तो मौसमको हिसाब गरेर खेती गर्न सकिन्थ्यो, अहिले त कहिले सुक्खा त कहिले असिनापानी, कहिले त बाली पाक्दै गर्दा पानी पर्छ, त्यसको सारा जिम्मा हामी महिलामाथि पर्छ ।”
वर्षा नियमित नभएपछि खेती गर्ने समय पनि अन्योलमा परेको छ । यसले उत्पादन घटाएको छ र खाद्य सुरक्षामा प्रत्यक्ष असर पारेको उहाँ बताउनुहुन्छ । जलवायु तथा वन वातावरणको क्षेत्रमा लामो समयदेखि सचेतनाको कार्यमा जुट्नुभएका महेशदत्त जोशी भन्नुहुन्छ, “चुरे क्षेत्रको माटो कमजोर र जलस्रोत अस्थिर भएकाले साना मौसमी परिवर्तनले नै ठूलो क्षति पुर्याउँछ, यसको सिधा असर महिलामाथि पर्छ, किनभने खेतबारी, घरायसी काम, घाँसदाउरा, पानी ल्याउने, पशुपालन र बालबालिका हेरचाह सबैको जिम्मा उहाँहरूमाथि हुन्छ ।”
चुलोचौका, मेलापात, घाँसदाउरा र पशुपालनमा महिलाको सक्रियता पुरुषको तुलनामा धेरै हुन्छ । जलवायु परिवर्तनका कारण वन क्षेत्र टाढिँदै जाँदा महिलाले दाउरा र घाँसका लागि अझ टाढा जानुपर्ने बाध्यता बढेको छ । शुक्लाफाँटा नगरपालिका–८ का रङ्गादेवी कामी भन्नुहुन्छ, “पहिले घर वरिपरि नै घाँसदाउरा भेटिन्थ्यो, अहिले तीनचार घण्टा हिँड्नुपर्छ ।”
उहाँका अनुसार टाढा जङ्गल जाने क्रममा महिलाहरू वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । त्योसँगै दैनिक भागदौड र पर्याप्त पोषिलो खाना नपाउँदा धेरै महिलाको स्वास्थ्यमा समस्या देखिन थालेको छ । लालझाडी गाउँपालिका–४ की कमला चौधरी भन्नुहुन्छ, “दिनभर खेत, घर, जङ्गल, पशुपालनको काममै बित्छ, खानपिन र विश्रामका लागि समय पाउँदैनौँ ।”
धेरै परिवारका पुरुष रोजगारीका लागि भारत वा खाडी र तेस्रो मुलुक जाने गरेका छन् । त्यसैले बालबालिका हुर्काउनेदेखि घरको सम्पूर्ण जिम्मा महिलामाथि पर्छ । पशुचौपायालाई दानापानी, घाँसको व्यवस्था, घरायसी इन्धनका रूपमा प्रयोग हुने दाउरा ल्याउने, खेतबारीको हेरचाह सबै उहाँहरूकै काँधमा हुन्छ ।
शुक्लाफाँटा नगरपालिका–२ का भुवनेश्वरी बोहरा भन्नुहुन्छ, “घरका पुरुष काम खोज्न भारत गएका छन्, घर, खेत, पशु सबै हामी महिलाकै जिम्मामा छन्, वर्षा भए खेत डुब्छ, नत्र सुक्खा हुन्छ, दुईवटै अवस्थामा मिहिनेत बढ्छ ।”
“जलवायु परिवर्तनका कारण वन क्षेत्र सुक्दै जानु र जङ्गली जनावरको आहार घट्नुका कारण बस्तीमा जनावर प्रवेशका घटना बढेका छन्”, शुक्लाफाँटा–८ का वडाध्यक्ष बहादुरसिंह महरा भन्नुहुन्छ, “जङ्गली जनावर, विशेषगरी हात्ती, बँदेल, चितल, निलगाई र बाँदरलगायतले बाली नष्ट गर्ने, बाघ, चितुवालगायतका हिंस्रक जनावरले जनधनको क्षति पुर्याउने घटना बढ्दै गएका छन् ।” त्यो समस्या सबैभन्दा बढी चुरे क्षेत्र नजिकका बस्तीमा छ, त्यसपछि निकुञ्ज आरपासका बस्तीमा रहेको उहाँ बताउनुहुन्छ । “जङ्गली जनावर भगाउने जिम्मा पनि महिलाकै काँधमा हुन्छ, अधिकांश पुरुष खेती लगाएर भारतलगायत क्षेत्रमा मजदुरीका लागि जाने भएकाले महिलाले नै बाली जोगाउन अनिँदोमै खेतबारीमा बस्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार जङ्गली जनावरको समस्या छँदैछ । वर्षा अनियमित हुँदा धान, मकै, गहुँलगायत मुख्य बालीको उत्पादन पनि बर्सेनि घट्दो छ । केही बाली रोग र कीराले नष्ट हुने गरेको छ । फलस्वरूप विपन्न परिवारहरूमा खाद्य सङ्कट बढ्दै गएको छ ।
कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका गयाप्रसाद चौधरी भन्नुहुन्छ, “बालीमा नयाँ रोग र घाँसका प्रजाति बढ्न थालेका छन्, घरका पुरुष कामको खोजीमा घर बाहिर रहन्छन्, जसलाई हटाउनका लागि महिलाले थप श्रम खर्च गर्नुपर्छ ।”
अधिकारकर्मी नरिराम लुहार भन्नुहुन्छ, “जलवायु परिवर्तनका असरहरूलाई सामना गर्न महिला लक्षित नीति र कार्यक्रम आवश्यक छन्, विपन्न, दलित र जनजाति महिलालाई जलवायु सहनशील कृषि तालिम, वैकल्पिक जीविकोपार्जन र सुरक्षित पानी व्यवस्थापनमा सहभागी गराउनुपर्ने हुन्छ ।”
महिला अगुवा भुमा चन्द भन्नुहुन्छ, “जलवायु परिवर्तनको सबैभन्दा बढी असर महिलामाथि परेको छ, तर योजना र बजेट निर्धारणमा आवाज सुन्ने अवसर कम छ, अहिले नै कदम चालिएन भने महिला स्वास्थ्य, शिक्षा र आर्थिक सशक्तीकरण दुवै जोखिममा पर्छ ।”