न्युयोर्क, १७ असार : संयुक्त राष्ट्रसङ्घका लागि प्यालेस्टाइनका दूत रियाद मन्सुरले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का लागि राजनीतिक तथा आर्थिक सहयोग बलियो बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नु भएको छ ।
न्युयोर्कमा युएनआरडब्लुएका लागि संयुक्त राष्ट्र महासभाको वार्षिक प्रतिज्ञा सम्मेलन लाई सम्बोधन गर्दै मन्सुरले संयुक्त राष्ट्रसङघ महासभाको प्रस्ताव –१९४ का आधारमा प्यालेस्टाइन शरणार्थीको विषयलाई न्यायपूर्ण र स्थायी समाधानका लागि आफ्नो आह्वानलाई नवीकरण गर्दै अन्तर्राष्ट्रिय समुदायलाई अन्यायको अन्त्य गर्न आवश्यक राजनीतिक इच्छा शक्ति र साहस जुटाउन आग्रह गर्नु भएको छ ।
पछिल्लो समयमा प्यालेस्टिनी शरणार्थीहरूको पीडा अभूतपूर्व स्तरमा पुगेको बताउदै उहाँले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा चलिरहेको नरसंहार र इजरायलको सैन्य आक्रमणको वर्णन गर्नु भएको छ ।
मन्सुरले युएनआरडब्लुएले प्यालेस्टाइन शरणार्थीहरूको पीडा कम गर्न र आवश्यक सेवाहरू प्रदान गर्न महत्त्वपूर्ण भूमिका जारी राखेको बताउनु भएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी शरणार्थीहरूले गम्भीर मानवीय अवस्थाको सामना गरिरहेको बताउँदै गाजा पट्टीमा, युएनआरडब्लुएको अपरेसन चलिरहेका विभिन्न क्षेत्रहरूमा लाखौं प्यालेस्टाइन शरणार्थीहरूको आवश्यकताहरू पूरा गर्न र क्षेत्रीय स्थिरतालाई समर्थन गर्न युएनआरडब्लुएको अपरिहार्य भूमिका रहेको बताउनु भएको छ ।
उहाँले एजेन्सीको वित्तीय सङ्कट र यसको सञ्चालनमा लगाएको प्रतिबन्धले छ महिना अघि महासभाले भारी मात्रामा नवीकरण गरेको जनादेश पूरा गर्ने क्षमतालाई खतरामा पारेको चेतावनी दिनुभएको छ ।
गुटेरेसले अन्य कुनै संगठनसँग युएनआरडब्लुए प्रतिस्थापन गर्ने वा यसको जनादेश पूरा गर्ने क्षमता नभएको बताउनुभएको छ ।
एजेन्सीले आफ्नो कार्यहरू जारी राख्न र प्यालेस्टाइन शरणार्थीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न अन्तर्राष्ट्रिय समुदायलाई सक्षम बनाउनका लागि तत्काल राजनीतिक र आर्थिक सहयोगको लागि आह्वान गर्दै उहाँले यस्तो सहयोगले समस्याको समाधान गरी न्यायपूर्ण र स्थायी शान्तिको अवस्था सिर्जना गर्न मद्दत गर्ने बताउनु भएको छ ।