असार १८, २०८३ बिहिबार

भोजपुर, १८ असारः यहाँका किसानहरू पछिल्लो समय व्यावसायिक जडीबुटीखेतीतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत अन्नबालीको तुलनामा जडीबुटीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखिएपछि यहाँका किसानहरू नयाँ विकल्पको रूपमा यस खेतीतर्फ उन्मुख भएका हुन् ।

     विशेषगरी जिल्लाका उच्च लेकाली तथा चिसो हावापानी भएका भू–भाग जडीबुटी उत्पादनका लागि उपयुक्त मानिँदै आएका छन् । यसले गर्दा यस क्षेत्रको सम्भावना अझै उजागर हुँदै गएको छ ।

यहाँका विभिन्न स्थानमा चिराइतो, लोड, सल्ला, सतुवा, पाँचऔँलेलगायत बहुमूल्य जडीबुटीको व्यावसायिकखेती विस्तार हुँदै गएको छ । प्राकृतिक रूपमा पाइने जडीबुटी अहिले किसानले योजनाबद्ध रूपमा खेती गर्न थालेका छन् । 

डिभिजन वन कार्यालयले जडीबुटीखेतीको विस्तारका लागि प्राविधिक ज्ञान, बीउबिजन, तालिम तथा अनुदानमार्फत सहयोग गर्दै आएको छ । कार्यालयको सक्रियताले किसानलाई नयाँ खेती प्रणाली अपनाउन सहज भएको र जोखिम न्यूनीकरणमा सहयोग पुगेको किसानहरूको अनुभव छ ।

स्थानीय किसान नूर्वू शेर्पाले चिराइतो खेतीबाट मात्रै वार्षिक रु चारदेखि पाँच लाख आम्दानीसम्म गरिरहेको बताउनुभयो । “पहिलेदेखि नै जडीबुटीखेती गर्दै आएको थिएँ”, उहाँले भन्नुभयो, “तर अहिले सरकारी सहयोगले यसलाई अझ व्यवस्थित र व्यावसायिक बनाउन सकेको छु ।” कार्यालयको सहयोगमा अहिले बारीमा ४० हजार बिरुवा विस्तार गरेको उहाँले जानकारी दिनुभयो । साथै उहाँले तीन किलोग्राम चिराइतोको बीउ छरेको बताउनुभयो । 

उहाँजस्तै अन्य किसानहरूले पनि जडीबुटीखेतीबाट राम्रो आम्दानी लिन थालेपछि गाउँघरमै रोजगारी सिर्जनासँगै वैदेशिक रोजगारतर्फको निर्भरतासमेत घट्न थालेको छ । व्यावसायिक जडीबुटीखेतीमा संलग्न किसानलाई लक्षित गर्दै डिभिजन वन कार्यालय भोजपुरले हरेक वर्ष अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । कार्यालयका वन अधिकृत नुर मुहम्मद मियाका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा ‘प्राकृतिक रूपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन’ कार्यक्रमअन्तर्गत छ जना किसानलाई प्रतिव्यक्ति रु एक लाखका दरले चिराइतोखेतीका लागि अनुदान उपलब्ध गराइएको छ । आगामी वर्षहरूमा थप किसानलाई समेट्दै कार्यक्रमलाई विस्तार गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

यसैबीच, कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको सुनिश्चित गर्न कार्यालयले नियमित रूपमा स्थलगत अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा किसानहरूले उदाहरणीय रूपमा जडीबुटीखेती गरिरहेको पाइएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा कपुरसिंह धामीले बताउनुभयो । 

“राज्यको लगानीको सही उपयोग भएको छ कि छैन भन्ने कुरा हेर्न अनुगमन आवश्यक हुन्छ”, उहाँले भन्नुभयो, “हालसम्म अनुगमन गरेका किसानहरुले राम्ररी नै काम गरेको देखियो । यस्ता कार्यक्रमले किसानलाई आयआर्जनमा टेवा पुग्ने देखिन्छ ।” जडीबुटीको मागसँगै मूल्य बर्सेनि वृद्धि हुँदै जानुले किसानलाई थप उत्साहित बनाएको स्थानीय जडीबुटीे व्यावसायिक प्रेमदोर्ची शेर्पाले बताउनुभयो । जिल्लाका माथिल्लो भेगका अधिकांश किसान जडीबुटीखेतीमा लागेको उहाँको भनाइ छ । गत वर्ष चिराइतो प्रतिमन (४० केजी) रु ३० देखि ३५ हजारसम्म बिक्री भएको उहाँले जानकारी दिनुभयो ।