असार १८, २०८३ बिहिबार

कञ्चनपुर, १८ असार  : भारतको बैंगलोरस्थित डिपार्टमेन्ट स्टोरमा एक दशकभन्दा बढी समय काम गर्नुभएका शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका जनकबहादुर कार्की स्वदेश फर्केर आफ्नै होटल व्यवसाय सञ्चालन गरी मासिक रु दुई लाख बढी आम्दानी गरिरहनुभएको छ । स्वदेशमै केही गर्ने अठोट र स्वरोजगार बन्ने चाहनाले उहाँलाई होटल व्यवसायको यात्रामा अघि बढाएको हो ।

भारतमा रहँदा कार्कीले मासिक करिब भारतीय रु ५० हजार तलब पाउनुहुन्थ्यो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण रोजगारीका लागि भारत जानुभएका उहाँले त्यहाँ लामो समय काम गर्नुभयो । समयसँगै डिजिटल मार्केटिङको प्रभाव बढ्दै जाँदा कम्पनीले कामदार कटौती गर्न थाल्यो र त्यसको असर उहाँमाथि प¥यो ।

“भारतमा बसेर गुजारा चलाउन सकिन्थ्यो”, कार्कीले बिगत सम्झिँदै भन्नुभयो, “तर मनमा स्वदेश फर्केर आफ्नै केही गर्ने हुटहुटी थियो, त्यही सपना बोकेर घर फर्किएँ ।”

स्वदेश फर्किएपछि व्यवसाय सुरु गर्न आवश्यक लगानी जुटाउन सजिलो थिएन । भारतमा कमाएको केही रकम र गाउँको केही जग्गा बिक्री गरेर उहाँले पूर्व–पश्चिम राजमार्ग छेउमा घडेरी तथा घर जोेड्नुभएको थियो । त्यही स्थानमा होटल सञ्चालन गर्ने निर्णय गर्नुभयो ।

जग्गा बैंकमा धितो राखेर सुरुमा करिब रु तीन लाख ऋण लिएर उहाँले होटल सञ्चालन सुरु गर्नुभयो । भारतमा रहँदा होटल व्यवसाय सञ्चालनको तौरतरिका नजिकबाट नियाल्ने अवसर पाएकाले ग्राहकलाई गुणस्तरीय सेवा दिन सकिने आत्मविश्वास उहाँमा थियो ।

त्यतिबेला कलुवापुर–झलारी क्षेत्रमा खाने र बस्ने सुविधासहितका होटलको सङ्ख्या न्यून थियो । यही सम्भावना देखेर उहाँले व्यवसाय सुरु गर्नुभयो । सञ्चालनमा रहेका अन्य होटलभन्दा राम्रो सेवा दिने लक्ष्यसहित सुरु गरिएको होटल छोटो समयमै ग्राहकको रोजाइमा पर्न थाल्यो । स्वादिष्ट खाना, आत्मीय आतिथ्य र सफा बसोबासको व्यवस्थाका कारण होटलको प्रतिष्ठा क्रमशः बढ्दै गयो ।

“ग्राहकले हाम्रो खाना र सत्कार मन पराएपछि हामीले अझ जिम्मेवारीका साथ सेवा दिन थाल्यौँ”, कार्की भन्नुहुन्छ, “त्यसपछि आम्दानी पनि बढ्दै गयो ।” खाना र बसोबासबाट मात्रै पर्याप्त आम्दानी नहुने निष्कर्षमा पुगेर उहाँले होटलमा थप सेवा विस्तार गर्नुभयो । बैंकबाट थप कर्जा लिएर सेमीनार, बैठक, विवाह तथा जन्मदिनलगायत कार्यक्रम सञ्चालन गर्न मिल्ने सुविधा सम्पन्न हल निर्माण गर्नुभयो । हाल होटल स्थानीय सामाजिक तथा व्यावसायिक कार्यक्रमका लागि प्रमुख गन्तव्यका रूपमा परिचित बनेको छ ।

कार्की दम्पतीले हालसम्म होटल व्यवसायमा रु तीन करोडभन्दा बढी लगानी गरिसक्नुभएको छ । केही रकम बैंक ऋणमार्फत जुटाइएको छ भने अधिकांश लगानी होटल व्यवसायबाट भएको आम्दानीकै आधारमा विस्तार गरिएको हो । उहाँको परिवारमा श्रीमान्–श्रीमती, दुई छोरी र एक छोरा छन् । जेठी छोरी काठमाडौँमा इञ्जिनियरिङ अध्ययनरत छिन् भने अर्की छोरी व्यवस्थापन सङ्कायमा स्नातक तह अध्ययन गरिरहेकी छिन् । छोरा निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् ।

होटलमा व्यस्त समयबाहेक अधिकांश काम कार्की दम्पत्ति आफैँले सम्हाल्ने गर्नुहुन्छ । आवश्यकताअनुसार थप कामदार राख्ने गरिएको छ । “महिनामा करिब रु दुई लाख ५० हजारदेखि तीन लाखसम्म आम्दानी हुन्छ”, कार्कीले भन्नुभयो, “घरखर्च, छोराछोरीको पढाइ र बैंकको किस्ता सबै होटलको आम्दानीले धानेको छ ।”

कार्कीको सपना यतिमै सीमित छैन । उहाँ होटललाई अझ आधुनिक बनाउँदै सेवा–सुविधा विस्तार गर्ने योजनामा हुनुहुन्छ । सुदूरपश्चिमका मुख्य सहरमा शाखा विस्तार गरी सयभन्दा बढी व्यक्तिलाई रोजगारी दिने लक्ष्य उहाँले राख्नुभएको छ ।

“विदेशमा पसिना बगाएर कमाएको अनुभवले मलाई एउटा महत्वपूर्ण कुरा सिकायो”, उहाँ भन्नुहुन्छ, “यदि अवसर, योजना र मेहिनत मिल्यो भने आफ्नै देशमा प्रशस्त सम्भावना रहेछ । ”