ढोरपाटन (बागलुङ), १८ असार : स्थानीय काठेखोला गाउँपालिका–८ लेखानीस्थित लेखानी स्वास्थ्य चौकीले फिजियोथेरापी सेवा दिन थालेको छ । ग्रामीण क्षेत्रका नागरिकलाई बजारमा पुगेर फिजियोथेरापी सेवा लिन सास्ती हुने भएकाले स्वास्थ्य चौकीमै सेवा दिन थालेको हो ।
स्थानीयले देश तथा विदेशबाट दाता खोजेर स्वास्थ्य चौकीमै उक्त सेवा दिन थालेपछि बिरामीलाई बागलुङ बजार धाउन पर्ने बाध्यता हटेको छ । रु ३७ लाखको लगानीमा वडा कार्यालयले तीन कोठाको भवन निर्माण गरी उक्त सेवा सञ्चालन गरेको स्वास्थ्य चौकी प्रमुख लक्ष्मीप्रसाद निउरेले जनाकारी दिनुभयो ।
उक्त भवनमा फिजियोथेरापीसँगै किशोरकिशोरीमैत्री सेवा र स्तनपान कक्ष राखिएको छ । अहिले स्वास्थ्य चौकीमै भएका जनशक्तिबाटै सेवा सञ्चालन हुँदै आएको छ । हाल स्वास्थ्य चौकीमा दुई जना स्वास्थ्यकर्मी अपुग रहेको प्रमुख निउरेले बताउनुभयो । हरेक दिन पाँच जनाको हाराहारीमा फिजियोथेरापी गराउनुपर्ने नशासम्बन्धी रोगका बिरामी आउने गरेको स्वास्थ्यबाट थाहा भएको छ ।
निउरेले भन्नुभयो, “गाउँबाट बागलुङ बजार पुगेर फिजियोथेरापी गराउन सजिलो छैन, हालै यो सुविधा दिने थालेका हौँ, स्वास्थ्य चौकीमा दैनिक ३० जना बिरामी आउँ छन्, त्यसमध्ये पाँच÷सात जना त फिजियोथेरापी गराउने हुन्छन् ।”
स्वास्थ्य चौकीबाट विद्यालय तहमा पढ्ने किशोरकिशोरीमा आउने शारीरिक परिवर्तनसँगै पर्ने समस्या, यौनरोग, किशोरीका लागि आइरन चक्की खुवाउने, महिनावारीका कारण आउने समस्या जस्ता विषयमा यहाँ परामर्श र औषधि वितरण गर्दै आएका छ । त्यसबाहेक किशोरकिशोरीको शरीरमा हेमोग्लोबिनको जाँच पनि गर्ने प्रमुख निउरे बताउनुहुन्छ ।
स्थानीय मनिकला छन्त्यालले गाउँमै फिजियोथेरापी सेवा पाएपछि सदरमुकाम बागलुङ बजार जानुपर्ने बाध्यता हटेको बताउनुभयो । हरेक वर्ष दुई हजार ६०० को हाराहारीमा बिरामीले सेवा लिने गरेको उक्त केन्द्रबाट चालु आर्थिक वर्षको हालसम्म दुई हजार ५०० बढी बिरामीले त्यहाँबाट स्वास्थ्य परीक्षण गराइ सकेका छन् ।