असार १८, २०८३ बिहिबार

गलकोट (बागलुङ), १८ असारः यहाँस्थित बडिगाड आधारभूत अस्पतालले सोमबारदेखि डायलाइसिस सेवा सुरु गरेको छ । 

    सङ्घीय सरकारले प्रदान गरेका पाँच थान रक्त शुद्धीकरण उपकरण प्राप्त गरेपछि, मिर्गौला फेल भएका बिरामीलाई सो  सेवा दिन थालिएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । 
    
    गाउँपालिका र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच सम्झौता भएपछि उक्त उपकरण प्राप्त भएको थियोे । 

    यसअघि त्यस क्षेत्रका मिर्गाैला रोगीले डायलाइसिस  सेवाका लागि धौलागिरि प्रादेशिक अस्पताल तथा अन्य स्थानमा    जानुपर्ने बाध्यता थियो । 

     डायलाइसिस सेवा सञ्चालन भएबाट गाउँपालिकासहित बागलुङको पश्चिमी क्षेत्र, गुल्मी तथा आसपास जिल्लाका मिर्गौला रोगी लाभान्वित हुने भएका छन् । 

    मध्यपहाडी पुष्पलाल लोकमार्ग नजिकै रहेको बडिगाड आधारभूत अस्पतालले उक्त सेवा दिन थालेपछि राजमार्गमा हुने दुर्घटनाका बिरामीलाई उपचार सेवामा टेवा मिल्ने भएको छ ।
      
    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बडिगाड आधारभूत अस्पताललाई आवश्यक प्रक्रिया पूरा गरी प्रदेश सरकारको मातहतमा ल्याउन सकिने बताउनुभयो ।